सुदूरपश्चिमका मुख्यमन्त्री शाह आज राजीनामा दिदैँ, प्रदेश सभा बैठक बोलाउन सचिवालयलाई पत्राचार

अत्तरिया : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन्। तर, विश्वासको मतका लागि आवश्यक बहुमत जुट्ने अवस्था नरहेपछि उनले प्रदेश सभालाई सम्बोधन गर्दै राजीनामा घोषणा गर्ने तयारी गरेका छन्।

नेकपा एमालेले गत असार ३१ गते प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाह अल्पमतमा परेका थिए। संवैधानिक व्यवस्थाअनुसार विश्वासको मत लिनुपर्ने भएपछि शाहले प्रदेश सभा बैठक बोलाउन सचिवालयलाई पत्राचार गरेका थिए।

मुख्यमन्त्रीको पत्रका आधारमा सभामुख भीमबहादुर भण्डारीले आज बिहीबार साँझ ५ बजे प्रदेश सभा बैठक बोलाएका छन्। प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि बैठक आह्वान गरिएको जानकारी दिएका छन्।

तर, प्रदेश सभामा आवश्यक बहुमत नपुग्ने भएपछि शाहले विश्वासको मतसम्बन्धी प्रक्रिया सुरु हुनुअघि नै प्रदेश सभालाई सम्बोधन गरेर राजीनामाको घोषणा गर्ने तयारी गरेको स्रोतले जनाएको छ। प्रदेश सभामा सम्बोधन गरेपछि उनले प्रदेश प्रमुख नजिर मियाँसमक्ष राजीनामा बुझाउने तयारी गरेका छन्।

शाहको राजीनामासँगै सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्नेछ। नयाँ राजनीतिक समीकरणअनुसार नेपाली कम्युनिष्ट पार्टी र नेकपा एमालेको समर्थनमा सरकार बनाउने तयारी भइरहेको बताइएको छ।

स्रोतका अनुसार नयाँ समीकरणमा खगराज भट्टलाई सुदूरपश्चिमको मुख्यमन्त्री बनाउने तयारी छ। मुख्यमन्त्री शाहले राजीनामा दिएपछि प्रदेश प्रमुखले संविधानअनुसार नयाँ सरकार गठनका लागि आह्वान गर्नेछन्।

यससँगै सुदूरपश्चिम प्रदेशमा पुनः सत्ता समीकरण परिवर्तन हुने भएको छ। नयाँ सरकार कसरी गठन हुन्छ भन्ने कुरा दलहरूबीच हुने सहमति र प्रदेश सभामा रहेको दलीय अंकगणितमा निर्भर हुनेछ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.