सुदूरपश्चिममा नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्यो, दाबी पेस गर्न आह्वान

अत्तरिया । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया औपचारिक रूपमा अघि बढेको छ। मुख्यमन्त्री कमलबहादुर शाहको राजीनामा स्वीकृत भएसँगै प्रदेश प्रमुख नजिर मियाँले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नयाँ मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गर्न आह्वान गरेका छन्।

प्रदेश प्रमुखको कार्यालयले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार मुख्यमन्त्री शाहले नेपालको संविधानको धारा १६९ को उपधारा (१) को खण्ड (क) बमोजिम मुख्यमन्त्री पदबाट दिएको लिखित राजीनामा साउन २८ गतेदेखि लागू हुने गरी स्वीकृत गरिएको हो।

राजीनामा स्वीकृत गरेपछि प्रदेश प्रमुख मियाँले प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गर्न आह्वान गरेका छन्।

नयाँ सरकार गठनका लागि साउन २९ गते शुक्रबार बिहान ११ बजेसम्म प्रदेश प्रमुखसमक्ष दाबी पेस गर्न समय तोकिएको छ।

संविधानको धारा १६८ को उपधारा (२) अनुसार दाबी पेस गर्दा सरकार गठनका लागि आवश्यक बहुमत पुग्ने आधारसहित सम्बन्धित दलहरूको समर्थन प्रस्तुत गर्नुपर्नेछ।

मुख्यमन्त्री शाहको राजीनामासँगै सुदूरपश्चिमको सत्ता समीकरणमा नयाँ राजनीतिक अध्याय सुरु भएको छ। प्रदेश प्रमुखको आह्वानपछि सत्ता समीकरणमा रहेका दलहरू बहुमत जुटाएर नयाँ मुख्यमन्त्रीको दाबी पेस गर्ने तयारीमा जुटेका छन्।

प्रदेशसभामा आवश्यक बहुमतको आधारसहित दाबी पेस भएपछि प्रदेश प्रमुखले संवैधानिक व्यवस्थाअनुसार नयाँ मुख्यमन्त्री नियुक्त गर्नेछन्। यससँगै प्रदेशमा नयाँ मन्त्रिपरिषद् गठनको बाटोसमेत खुल्नेछ।

अब सुदूरपश्चिमको सरकारको नेतृत्व कसले गर्ने भन्ने विषय दलहरूबीचको सत्ता समीकरण र प्रदेशसभामा जुट्ने बहुमतमा निर्भर हुनेछ। शुक्रबार बिहान ११ बजेसम्म पेस हुने दाबीपछि प्रदेशको आगामी सरकारको नेतृत्वबारे स्पष्टता आउनेछ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.