प्यारामेडिक्सका समस्या समाधान गर्न मुख्यमन्त्री भट्टको पहल गर्ने प्रतिबद्धता

धनगढी । सिएमए संघका केन्द्रीय पदाधिकारीहरूले प्यारामेडिक्स स्वास्थ्यकर्मीहरूले भोग्दै आएका समस्या तथा अधिकारका विषयमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टको ध्यानाकर्षण गराएका छन्।

सोमबार संघका पदाधिकारीहरूले मुख्यमन्त्री भट्टसँग भेट गरी प्यारामेडिक्स स्वास्थ्यकर्मीको क्लिनिकल सेवाको अवमूल्यन भइरहेको तथा उनीहरूको अधिकार क्रमशः संकुचित हुँदै गएको भन्दै समस्या समाधानका लागि आवश्यक पहल गर्न आग्रह गरेका हुन्।

संघले प्यारामेडिक्स स्वास्थ्यकर्मीहरू स्वास्थ्य सेवाको महत्वपूर्ण जनशक्ति भए पनि उनीहरूको भूमिका, सेवा–सुविधा तथा व्यावसायिक अधिकारका विषयमा राज्यका सम्बन्धित निकायबाट पर्याप्त ध्यान नदिइएको जनाएको छ। क्लिनिकल सेवामा प्रत्यक्ष योगदान पुर्‍याउँदै आएका स्वास्थ्यकर्मीको अधिकार र पेशागत मर्यादा सुनिश्चित गर्न आवश्यक कदम चालिनुपर्ने संघको माग छ।

संघका पदाधिकारीहरूले आफ्ना माग तथा समस्यासहितको ध्यानाकर्षण पत्र मुख्यमन्त्री भट्टलाई बुझाएका थिए। पत्र बुझ्दै मुख्यमन्त्री भट्टले संघले उठाएका विषयलाई सकारात्मक रूपमा लिँदै समस्या समाधानका लागि आवश्यक समन्वय र सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे।

मुख्यमन्त्री भट्टले स्वास्थ्य क्षेत्रमा प्यारामेडिक्स स्वास्थ्यकर्मीको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै उनीहरूले भोग्दै आएका समस्याका विषयमा सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक पहल गर्ने बताए।

प्यारामेडिक्स स्वास्थ्यकर्मीहरूले लामो समयदेखि आफ्नो पेशागत अधिकार, कार्यक्षेत्र र सेवा–सुविधासम्बन्धी विषय उठाउँदै आएका छन्। मुख्यमन्त्रीसँगको भेटपछि आफ्ना माग सम्बोधनका लागि प्रदेश सरकारबाट आवश्यक पहल हुने अपेक्षा संघले गरेको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.