अत्तरिया : कैलालीको बर्दगोरिया गाउँपालिका–३ स्थित लालीगुराँस सामुदायिक वनमा बन्दुक पड्किँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बर्दगोरिया–३ का ४२ वर्षीय पदम विश्वकर्मा रहेका छन् । मंगलबार राति सामुदायिक वनभित्र बन्दुक पड्किँदा विश्वकर्माको मृत्यु भएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय बौनियाका प्रहरी निरीक्षक डम्बर विष्टका अनुसार विश्वकर्मासँगै जंगल गएका एक जनालाई नियन्त्रणमा लिएर घटनाबारे सोधपुछ भइरहेको छ । घटनास्थलमा प्रहरी टोली पुगेर थप अनुसन्धान गरिरहेको छ ।
प्रहरी निरीक्षक विष्टले विश्वकर्मासँग रहेको बन्दुकबाटै गोली चलेको हो वा अन्य कसैले बन्दुक चलाएको हो भन्ने विषय यकिन भइनसकेको बताए ।
‘बन्दुक कसले र किन चलाएको हो तथा विश्वकर्मासँग रहेको बन्दुकबाटै गोली चलेको हो भन्ने यकिन हुन सकेको छैन,’ उनले भने ।