धनगढी : धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालको नेतृत्वमा बडीमालिका माताको डोलीसहित सरकारी टोली दोस्रो पटक बाजुरास्थित बडीमालिका मन्दिरतर्फ प्रस्थान गरेको छ। शुक्रबार बडीमालिका मन्दिरमा दर्शन तथा विशेष पूजाआजा गर्ने उद्देश्यले टोली परम्परागत धार्मिक विधिअनुसार पदयात्रामा निस्किएको हो।
टोलीलाई धनगढी उपमहानगरपालिकाले फूलमाला, अबिर तथा पञ्चेबाजासहित धार्मिक तथा सांस्कृतिक विधिपूर्वक बिदाइ गरेको थियो। डोलीसहितको यात्राले सुदूरपश्चिमको मौलिक धार्मिक परम्परा, संस्कृति र ऐतिहासिक विरासतलाई उजागर गरेको छ।
बाजुराको बडीमालिका मन्दिर धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक दृष्टिले सुदूरपश्चिमकै महत्वपूर्ण तीर्थस्थलका रूपमा परिचित छ। तत्कालीन जुम्ला र डोटी राज्यको समयदेखि विशेष तिथिमा सरकारी पूजा टोली डोली, पञ्चेबाजा र सलामीसहित बडीमालिका जाने परम्परा रहँदै आएको बताइन्छ।
यही ऐतिहासिक तथा सांस्कृतिक परम्परालाई निरन्तरता दिने उद्देश्यले धनगढी उपमहानगरपालिकाले दोस्रो पटक सरकारी टोलीलाई डोलीसहित बडीमालिका पठाएको हो। टोलीले बडीमालिका मन्दिर पुगेर विशेष पूजा तथा दर्शन गर्ने कार्यक्रम रहेको छ।
धार्मिक आस्था र सांस्कृतिक पहिचानसँग गहिरोसँग जोडिएको बडीमालिका यात्रा पछिल्लो समय धार्मिक पर्यटनको दृष्टिले समेत महत्वपूर्ण बन्दै गएको छ। डोली यात्रा, परम्परागत पूजा विधि तथा सांस्कृतिक गतिविधिले सुदूरपश्चिमको मौलिक पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन र धार्मिक पर्यटन प्रवर्द्धन गर्न योगदान पुग्ने अपेक्षा गरिएको छ।
बडीमालिका यात्रालाई केवल धार्मिक अनुष्ठानका रूपमा नभई सुदूरपश्चिमको इतिहास, संस्कृति र परम्परालाई पुस्तान्तरण गर्ने महत्वपूर्ण अभियानका रूपमा समेत हेरिएको छ।