दुर्गम क्षेत्रका १५० विपन्न बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिने

धनगढी । अमेरिकामा रहेको Sejalit An Everified Company का संस्थापक शंकर केसीले दुर्गम तथा पहाडी क्षेत्रका अति विपन्न बालबालिकाको शिक्षामा सहयोग पुर्‍याउने उद्देश्यले रु। १ लाख १० हजार आर्थिक सहयोग गरेका छन्।

केसीले सामाजिक अभियन्ता लक्ष्मी बोगटी कुँवरमार्फत उक्त रकम सहयोग गरेका हुन्। प्राप्त सहयोगबाट आगामी केही दिनमा विभिन्न दुर्गम तथा पहाडी क्षेत्रमा पुगेर करिब १५० जना विपन्न तथा जेहेन्दार बालबालिकालाई स्कुल ब्याग तथा स्टेशनरी सामग्री वितरण गरिने भएको छ।

आर्थिक अभावका कारण आवश्यक शैक्षिक सामग्रीबाट वञ्चित बालबालिकालाई प्रत्यक्ष सहयोग पुर्‍याउने उद्देश्यले सामाजिक अभियन्ता कुँवरको नेतृत्वमा अभियान सञ्चालन भइरहेको छ। कुँवरले आगामी दिनमा विभिन्न दुर्गम क्षेत्रमा पुगेर छनोट गरिएका बालबालिकालाई शैक्षिक सामग्री हस्तान्तरण गर्ने बताएकी छन्।

सहयोगपछि संस्थापक केसीले कुँवरको नेतृत्वमा सञ्चालन भइरहेको सामाजिक अभियानलाई आगामी दिनमा पनि निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले गरिब, असहाय तथा जेहेन्दार बालबालिका अध्ययन गर्ने विद्यालय निर्माणका लागि समेत सहयोग गर्ने इच्छा व्यक्त गरेका छन्।

यसैबीच, अन्य दाताहरूको सहयोगमा आगामी दिनमा ४–५ वटा विद्यालयमा स्कुल ब्याग, स्टेशनरी तथा खाद्यान्न सामग्रीसहित पुगेर सहयोग गर्ने तयारी भइरहेको कुँवरले जानकारी दिएकी छन्।

बालबालिकाको शिक्षामा सहयोग पुर्‍याउने उद्देश्यले सञ्चालन गरिएको अभियानमा सहयोग गर्ने सम्पूर्ण दाताप्रति कुँवरले आभार व्यक्त गरेकी छन्। उनले आगामी दिनमा पनि सामाजिक सेवाका विभिन्न अभियानमा सहकार्य र सहयोगका लागि सबैसँग अपेक्षा गरेकी छन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.