सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका आक्रामक ब्याटर रदरफोर्ड अनुबन्ध

अत्तरिया : वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन् । २८ वर्षीय बायाँहाते ब्याटर तथा मध्यम गतिका बलर रदरफोर्ड छोटो प्रारूपको क्रिकेटमा आक्रामक ब्याटिङका लागि परिचित छन् । मध्यक्रममा ब्याटिङ गर्ने उनी तीव्र गतिमा रन बनाउन र ठूला सट प्रहार गर्न सक्षम खेलाडी हुन् ।
रदरफोर्डले वेस्ट इन्डिजका लागि ३१ एकदिवसीय र ६१ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् । एकदिवसीयमा उनले ८७३ रन बनाएका छन् भने टी–२० अन्तर्राष्ट्रियमा १ हजार १२३ रन जोडेका छन् । टी–२० अन्तर्राष्ट्रियमा उनको उच्च स्कोर ८४ रन हो ।

सबैखाले टी–२० क्रिकेटमा रदरफोर्डले २८३ खेलमा ५ हजार ९० रन बनाएका छन्। यस क्रममा उनले ३२४ छक्का प्रहार गरेका छन् । उनको टी–२० ब्याटिङ स्ट्राइक रेट १४२.०५ छ ।

फ्रेन्चाइज क्रिकेटमा पनि रदरफोर्डको अनुभव उल्लेखनीय छ । सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले रदरफोर्डको आगमनले टोलीको ब्याटिङ र अलराउन्ड क्षमतामा थप बल पुग्ने विश्वास व्यक्त गरेका छन् । ‘शेरफन रदरफोर्डजस्ता अनुभवी र आक्रामक खेलाडीलाई सुदूरपश्चिम रोयल्समा आबद्ध गर्न पाउँदा हामी उत्साहित छौँ । उहाँको ब्याटिङ क्षमता र फ्रेन्चाइज क्रिकेटको अनुभवले टोलीलाई बलियो बनाउने विश्वास छ । एनपीएलमा उहाँको उपस्थितिले समर्थकलाई पनि उत्साहित बनाउनेछ । यस सिजन टोलीको लक्ष्यमा उहाँको योगदान महत्त्वपूर्ण हुने अपेक्षा गरेका छौँ,’ खड्काले भने ।

रदरफोर्डले पनि सुदूरपश्चिम रोयल्सबाट एनपीएल खेल्न पाउँदा उत्साहित रहेको बताएका छन् । उनले नेपालमा खेल्न र टोलीका लागि योगदान दिन आफू उत्सुक रहेको बताएका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.