अत्तरिया : प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रका संघीय सांसदहरूसँग छलफल गरेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बुधबार भएको भेटमा बाढीबाट भएको क्षति, तटीय बस्तीको अवस्था तथा उद्धार र राहतका विषयमा छलफल भएको हो ।
छलफलमा रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका संघीय सांसद सहभागी थिए । सांसदहरूले आ–आफ्नो क्षेत्रमा बाढीले पुर्याएको क्षति, प्रभावित नागरिकको अवस्था तथा उद्धार र राहतका लागि तत्काल चाल्नुपर्ने कदमबारे प्रधानमन्त्री शाहको ध्यानाकर्षण गराएका थिए ।
प्रधानमन्त्री शाहले सरकार प्रभावित नागरिकको सुरक्षा र राहतका लागि पूर्ण प्रतिबद्धताका साथ परिचालित रहेको बताएका छन् ।
उनले तल्लो तटीय क्षेत्रमा थप सतर्कता अपनाउन तथा बाढीका कारण विस्थापित नागरिकलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न सम्बन्धित निकायलाई स्पष्ट निर्देशन दिइसकेको जानकारी गराए ।
यसअघि प्रधानमन्त्री शाहले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बोलाएर बाढी प्रभावित क्षेत्रको पछिल्लो अवस्था, खोज तथा उद्धार र राहत कार्यको प्रगतिबारे उच्चस्तरीय जानकारी लिएका थिए ।