भारत र नेपालका पूर्वमुख्यमन्त्रीबीच भेट, रसुवा बाढीबारे गहन छलफल

धनगढी । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री कमलबहादुर शाह र भारतको उत्तराखण्डका पूर्वमुख्यमन्त्री तथा भारतीय जनता पार्टी (भाजपा) का राष्ट्रिय उपाध्यक्ष तीरथ सिंह रावतबीच शनिबार नयाँदिल्लीमा भेटवार्ता भएको छ।

उपचारका लागि नयाँदिल्लीमा रहेका शाह र रावतबीचको भेटमा हालै रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिबारे विशेष छलफल भएको हो।

भेटका क्रममा रावतले बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै पीडित परिवारप्रति समवेदना प्रकट गरे । उनले विपद्को यस दुःखद् घडीमा नेपाललाई मानवीय सहयोग तथा उद्धार र राहतका लागि भारत सरकार तयार रहेको बताए।

भोटेकोशी बाढीबाट रसुवामा ठूलो जनधनको क्षति भएको छ। निवर्तमान मुख्यमन्त्री शाह भदौ १० गते उपचारका लागि स्थलमार्ग हुँदै भारत प्रस्थान गरेका थिए । दिल्लीमा भएको भेटलाई नेपाल–भारतबीचको आपसी सद्भाव, मानवीय संवेदना र विपद्का समयमा सहकार्यको भावनाका रूपमा हेरिएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.