धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले मुक्त हलियाका समस्या स्थायी, दिगो र न्यायोचित रूपमा समाधान गर्नुपर्ने बताएका छन ।
१८ औँ मुक्त हलिया दिवसको अवसरमा राष्ट्रिय मुक्त हलिया समाज महासंघ नेपालले आयोजना गरेको ‘मुक्त हलियाहरूको दिगो र न्यायोचित पुनर्स्थापनाका सन्दर्भमा सरोकारवालाबीच प्रदेशस्तरीय संवाद’ कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री भट्टले लामो समयदेखि हलिया समस्या समाधान हुन नसक्नु दुःखद भएको बताए।
मुख्यमन्त्री भट्टले प्रदेश सरकार वास्तविक पीडित मुक्त हलियाहरूका मागप्रति गम्भीर र जवाफदेही रहेको उल्लेख गर्दै उनीहरूको पीडाप्रति आफ्नो पूर्ण ऐक्यबद्धता रहेको बताए ।
उनले यति लामो समयसम्म पनि हलिया समस्या समाधान हुन नसक्नुको कारणबारे गम्भीर समीक्षा आवश्यक रहेको बताए। समस्या समाधान हुन नसक्नुमा राज्य पक्ष वा सम्बन्धित संघ–संस्थामध्ये कसको कमजोरी रह्यो भन्ने विषयमा समेत समीक्षा गरी स्पष्ट निष्कर्षमा पुग्नुपर्ने उनको भनाइ थियो।
“समस्या समाधानका लागि विगतको समीक्षा गर्दै कमजोरी पहिचान गर्नुपर्छ। त्यसबाट एउटा निष्कर्ष निकालेर मुक्त हलियाका समस्या समाधानतर्फ ठोस रूपमा अघि बढ्नुपर्छ,” मुख्यमन्त्री भट्टले भने ।
मुक्त हलियाको पुनर्स्थापना केवल राहत वितरणमा सीमित नभई उनीहरूको दीर्घकालीन जीविकोपार्जन, आवास, शिक्षा, रोजगारी र सामाजिक न्याय सुनिश्चित गर्ने गरी अघि बढाउनुपर्नेमा समेत उनले जोड दिए।
कार्यक्रममा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री प्रकाश रावल, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दमनबहादुर भण्डारी, आर्थिक मामिला राज्यमन्त्री जानकी ऐर बम र भौतिक पूर्वाधार विकास राज्यमन्त्री जानकी कुँवरलगायतको समेत सहभागिता रहेको थियो।