कांग्रेसको १५औँ महाधिवेशनको नयाँ कार्यतालिका सार्वजनिक
असोज ३ देखि वडा अधिवेशन, जिल्ला र प्रदेश अधिवेशन महाधिवेशनपछि
काठमाडौं : नेपाली कांग्रेसले १५ औँ केन्द्रीय महाधिवेशनका लागि तल्लो तहका अधिवेशनहरूको नयाँ कार्यतालिका सार्वजनिक गरेको छ । रसुवाको भोटेकोसी नदीमा आएको बाढीपछि उत्पन्न प्रतिकूल परिस्थितिका कारण कांग्रेस केन्द्रीय निर्वाचन समितिले यसअघि भदौ २४ गतेका लागि तय गरिएको वडा अधिवेशन सारेर नयाँ तालिका सार्वजनिक गरेको हो ।
नयाँ तालिकाअनुसार, पूर्वनिर्धारित असोज १६ देखि १९ गतेसम्मको केन्द्रीय महाधिवेशनको मितिलाई यथावत् राखेर प्रथम चरणका अन्य तहगत अधिवेशनको मिति तय गरिएको छ ।
परिमार्जित कार्यतालिका अनुसार गाउँरनगर वडा अधिवेशन असोज ३ र ४ गते गर्ने गरी निर्धारण गरिएको छ । गाउँरनगरपालिका अधिवेशन असोज ७ गते एवं प्रदेशसभा तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन असोज १० गते गर्ने कार्यतालिका छ ।
केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ गतेसम्म गर्ने कार्यतालिका तय गरिएको केन्द्रीय निर्वाचन समिति संयोजक प्रेमबहादुर खड्काले बताए ।
बाढीबाट बढी प्रभावित रसुवा, नुवाकोट र धादिङ जिल्लाको हकमा खटिएका निर्वाचन अधिकृत र पार्टीको स्थानीय निकायको समन्वयमा अधिवेशन सम्पन्न गरिने निर्वाचन समितिले जनाएको छ । त्यस्तै, विदेशस्थित बाँकी नेपाली जनसम्पर्क समितिका अधिवेशनहरू असोज १० गतेभित्र सक्ने लक्ष्य राखिएको छ । निर्वाचन समितिका संयोजक खड्काद्वारा जारी विज्ञप्तिमा जिल्ला र प्रदेश अधिवेशनको समयतालिका भने दोस्रो चरणमा प्रकाशित गरिने उल्लेख छ ।