गेटाको स्वास्थ्य विज्ञान विश्वविद्यालय परिसरमा वृक्षारोपण

अत्तरिया  : गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय परिसरमा वृक्षारोपण अभियान सुरु गरिएको छ । वातावरण संरक्षण, हरियाली प्रवद्र्धन तथा विश्वविद्यालय परिसरलाई स्वच्छ र वातावरणमैत्री बनाउने उद्देश्यले शनिबार वृक्षारोपण कार्यक्रम आयोजना गरिएको हो ।

चिकित्सा शिक्षा अध्ययन भएपछि विश्वविद्यालय परिसरमा आउने विद्यार्थी, बिरामी तथा सर्वसाधारणलाई स्वच्छ वातावरण र शीतलता प्रदान गर्ने उद्देश्यले विभिन्न प्रजातिका वनस्पति तथा फूलका बिरुवा रोपिएको आयोजकले जनाएको छ ।

वृक्षारोपण अभियानमा विश्वविद्यालयका पदाधिकारी तथा कर्मचारीसँगै सशस्त्र प्रहरी बल, विद्यार्थी, स्थानीयवासी, सामाजिक अभियन्ता तथा विभिन्न क्लब र संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

रोटरी क्लब अफ धनगढीको आयोजनामा रोट्रयाक्ट क्लब अफ धनगढी तथा लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ एनअन्तर्गत एरिया नम्बर ५ लगायतका संस्थाको सहकार्यमा विश्वविद्यालय परिसरमा वृक्षारोपण गरिएको हो ।

अभियान अन्तर्गत विश्वविद्यालय परिसर वरिपरि विभिन्न प्रजातिका ५ सय ११ वटा वनस्पति तथा फूलका बिरुवा रोपिएका छन् । पहिलो दिनको वृक्षारोपण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएकोमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सुदूरपश्चिम प्रदेश सहमहामन्त्री जसु भट्टले खुसी व्यक्त गरिन् ।

कार्यक्रममा सहभागीहरूले वातावरण संरक्षणका लागि बिरुवा रोपेर मात्रै नहुने भन्दै रोपिएका बिरुवाको नियमित संरक्षण र हुर्काउने जिम्मेवारीमा समेत ध्यान दिनुपर्नेमा जोड दिएका थिए । विश्वविद्यालय परिसरलाई हराभरा र वातावरणमैत्री बनाउन वृक्षारोपण अभियान महत्वपूर्ण हुने उनीहरूको भनाइ थियो ।

विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. सुनिलकुमार जोशीले वृक्षारोपण वातावरण संरक्षणसँगै हरियाली प्रवद्र्धन र स्वच्छ तथा स्वस्थ समाज निर्माणका लागि महत्वपूर्ण रहेको बताए । विश्वविद्यालय परिसरलाई हरियालीयुक्त र अध्ययनका लागि अनुकूल वातावरण बनाउने अभियानमा सबैको सहकार्य आवश्यक रहेको उनको भनाइ छ ।

विश्वविद्यालयले वृक्षारोपण अभियानलाई आगामी दिनमा पनि निरन्तरता दिने जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.