अत्तरिया : विश्वप्रसिद्ध मोटरसाइकल ब्रान्ड ट्रायम्फले सुदूरपश्चिम प्रदेशमा आफ्नो उपस्थितिलाई विस्तार गर्दै धनगढीमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । ट्रायम्फ मोटरसाइकलको आईतबार धनगढीस्थित आधिकारिक डिलरका रूपमा दीपेश अटो हब प्राइभेट लिमिटेड नियुक्त भएपछि शोरुमको औपचारिक उद्घघाटन गरिएको हो ।
सोरुमको कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्करराज ओझाले रिवन काटेर उद्घाटन गरे । धनगढीमा ट्रायम्फको शोरुम सञ्चालनमा आएसँगै सुदूरपश्चिमका मोटरसाइकलप्रेमीले अन्तर्राष्ट्रिय स्तरको प्रिमियम मोटरसाइकल, आधिकारिक सेवा तथा ओरिजिनल स्पेयर पाट्र्स स्थानीय स्तरमै सहज रूपमा प्राप्त गर्ने अवसर पाउने भएका छन् ।
शोरुम उद्घाटन कार्यक्रममा स्थानीय गणमान्य व्यक्ति, मोटरसाइकलप्रेमी तथा बाइकर समुदायको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रममा सहभागीहरूले धनगढीमा प्रिमियम मोटरसाइकल ब्रान्डको आधिकारिक शोरुम सञ्चालनमा आउनुलाई सुदूरपश्चिमको मोटरसाइकल बजारका लागि महत्वपूर्ण उपलब्धिका रूपमा लिएका थिए ।
दीपेश अटो हब प्राइभेट लिमिटेडका दीपेश ओझाले धनगढीमा ट्रायम्फको आधिकारिक शोरुम स्थापना हुनु ठूलो उपलब्धि भएको बताए । उनले ग्राहकलाई उत्कृष्ट बिक्री, सेवा र ग्राहक अनुभव प्रदान गर्न आफूहरू प्रतिबद्ध रहेको बताए ।
त्यस्तै, ट्रायम्फ नेपालका म्यानेजर सागर थापाले ट्रायम्फ केवल सवारी साधन नभई भरोसायोग्य ब्रान्ड र विश्वसनीयताको प्रतीक भएको बताए । धनगढीका मोटरसाइकलप्रेमी समुदायसँगको सम्बन्धलाई अझ मजबुत बनाउँदै लैजान आफूहरू उत्साहित रहेको उनको भनाइ थियो ।
नयाँ शोरुममा प्रशिक्षित जनशक्तिमार्फत अन्तर्राष्ट्रिय स्तरको सेवा–सुविधा उपलब्ध गराइने जनाइएको छ । कम्पनीका अनुसार शोरुमलाई Sales, Service र Spares (3S) सहितको पूर्ण सुविधासम्पन्न केन्द्रका रूपमा तयार गरिएको छ ।
यस शोरुमबाट धनगढी तथा आसपासका क्षेत्रका ग्राहकलाई ट्रायम्फका विभिन्न प्रिमियम मोटरसाइकल, आधिकारिक मर्मत तथा सर्भिसिङ सुविधा र ओरिजिनल स्पेयर पाट्र्स उपलब्ध हुनेछन्। यसअघि प्रिमियम मोटरसाइकलको खरिद तथा आधिकारिक सेवा लिन अन्य शहरमा निर्भर हुनुपर्ने अवस्थालाई समेत नयाँ शोरुमले सहज बनाउने अपेक्षा गरिएको छ ।
ट्रायम्फ धनगढी धनगढी उपमहानगरपालिका–३, चटकपुर मा सञ्चालनमा आएको हो। शोरुमले सुदूरपश्चिममा बढ्दो प्रिमियम मोटरसाइकल बजारलाई लक्षित गर्दै ग्राहकलाई गुणस्तरीय उत्पादनसँगै विश्वस्तरीय बिक्रीपछिको सेवा उपलब्ध गराउने जनाएको छ ।