अत्तरिया:- कैलालीको गोदावरी नगरपालिकाले असोज ९ गते देखि ११ गतेसम्म भारी देखि धेरै भारी वर्षा हुनसक्ने भन्दै नगरवासीलाई सतर्क रहन आग्रह गरेको छ। नगरपालिकाले बुधबार जारी गरेको सूचना अनुसार नेपाल मौसम विज्ञान विभागको विशेष मौसमी बुलेटिनका आधारमा उक्त अवधिमा वर्षाको सम्भावना रहेको जनाएको हो। भारी वर्षाका कारण नदी तथा खोला–नालामा पानीको सतह बढ्न सक्ने भएकाले नदी तथा तटीय क्षेत्र आसपास बसोबास गर्ने समुदायलाई सम्भावित बाढी तथा डुबानको जोखिमबाट सुरक्षित रहन नगरपालिकाले आग्रह गरेको छ।
नगरपालिकाले कृषक, दाजुभाइ तथा दिदीबहिनीहरूलाई मौसममा सुधार भएपछि मात्र धानबाली काट्न समेत अनुरोध गरेको छ।
यसैगरी, भारी वर्षाका कारण हुनसक्ने बाढी, डुबान तथा अन्य जोखिमबाट बच्न आवश्यक सतर्कता र सावधानी अपनाउन नगरपालिकाले नगरवासीलाई आग्रह गरेको छ।