सेती प्रादेशिक अस्पतालको ३०० मिटरभित्र निजी स्वास्थ्य संस्था सञ्चालन रोक्न मन्त्रालयको ताकेता

अत्तरिया  : सुदूरपश्चिम प्रदेश सरकारले सरकारी अस्पताल तथा सरकारी स्वास्थ्य संस्थाको ३०० मिटर वरिपरि सञ्चालनमा रहेका निजी स्वास्थ्य संस्थामाथि कडाइ गर्ने भएको छ।

सामाजिक विकास मन्त्रालयले सुदूरपश्चिम प्रदेश जनस्वास्थ्य सेवा ऐन, २०७६ को दफा २७ को उपदफा (१) कार्यान्वयन गर्न स्वास्थ्य निर्देशनालयलाई निर्देशन दिएको हो।

ऐनले सरकारी अस्पताल तथा सरकारी स्वास्थ्य संस्थाको परिसरबाट ३०० मिटर दूरीभित्र निजी अस्पताल, पोलिक्लिनिक, क्लिनिक, नर्सिङ होम, प्रयोगशालालगायत स्वास्थ्यसम्बन्धी निजी व्यवसाय सञ्चालन गर्न नपाइने व्यवस्था गरेको छ।

मन्त्रालयले यसअघि नै २०७९ माघ २९ गते ‘निजी अस्पताल तथा स्वास्थ्यसम्बन्धी व्यवसाय स्थानान्तरण मापदण्ड, २०७९’ समेत संलग्न गरी ऐन कार्यान्वयनका लागि निर्देशन दिएको स्मरण गराएको छ।

तर, उक्त निर्देशन र मापदण्डअनुसार ऐनको दफा २७ कार्यान्वयन नभएको भन्दै मन्त्रालयले पुनः कडाइका साथ कार्यान्वयन गर्न निर्देशन दिएको हो।

मन्त्रीस्तरीय निर्णयअनुसार मन्त्रालयले ऐन तथा मापदण्ड तत्काल कार्यान्वयन गर्न स्वास्थ्य निर्देशनालयलाई ताकेता गरेको जनाएको छ।

मन्त्रालयका कानुन अधिकृत दानबहादुर सुनारले हस्ताक्षर गरेको पत्रमा सरकारी अस्पताल आसपास सञ्चालनमा रहेका निजी स्वास्थ्य संस्थालाई कानुनी दायरामा ल्याउन निर्देशन दिइएको छ।

धनगढीस्थित सेती प्रादेशिक अस्पताल आसपास भने ३०० मिटरभित्रै विभिन्न निजी अस्पताल, पोलिक्लिनिक, क्लिनिक, प्रयोगशाला तथा औषधि पसलबाट स्वास्थ्य सेवा सञ्चालन भइरहेको छ। तीमध्ये कतिपयले स्वास्थ्य संस्था सञ्चालनको अनुमति नै नलिएको पाइएको छ।

सरकारी अस्पतालमा कार्यरत चिकित्सकसमेत अस्पताल आसपास सञ्चालनमा रहेका निजी क्लिनिकमा सेवा दिइरहेका छन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.