गेटामा चिकित्सा शिक्षा सञ्चालनको बाटो खुल्दै, आयोगको टोलीद्वारा स्थलगत अनुगमन

अत्तरिया  : कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय मा चिकित्सा शिक्षा कार्यक्रम सञ्चालनका लागि चिकित्सा शिक्षा आयोगको टोलीले स्थलगत अनुगमन सुरु गरेको छ।

चिकित्सा शिक्षा कार्यक्रम सञ्चालनको अनुमति तथा विद्यार्थीका लागि सिट संख्या निर्धारण गर्ने प्रक्रियाअन्तर्गत आयोगको टोलीले मंगलबार विश्वविद्यालयको स्थलगत अनुगमन गरेको हो।

अनुगमनका क्रममा चिकित्सा शिक्षा सञ्चालनका लागि आवश्यक भौतिक पूर्वाधार, जनशक्ति, शिक्षण संस्था, प्रयोगशाला तथा शिक्षण अस्पतालको अवस्था लगायतका विषयमा अध्ययन गरिनेछ।

आयोगको टोलीले विश्वविद्यालय परिसर, शिक्षण भवन, प्रयोगशाला, अस्पताल तथा विद्यार्थीको अध्ययन र प्रयोगात्मक अभ्याससँग सम्बन्धित पूर्वाधारको निरीक्षण गर्नेछ। आयोगले निर्धारण गरेको मापदण्डअनुसार विश्वविद्यालयले आवश्यक पूर्वाधार तथा जनशक्ति व्यवस्थापन गरे–नगरेको समेत अनुगमनबाट मूल्यांकन गरिनेछ।

विश्वविद्यालय र सुदूरपश्चिम प्रदेश सरकारबीच भएको सम्झौताअनुसार प्रदेश सरकार मातहतका अस्पताललाई समेत विद्यार्थीको प्रयोगात्मक तथा क्लिनिकल अभ्यासका लागि प्रयोग गर्ने तयारी गरिएको छ। त्यसअनुसार सम्बन्धित अस्पतालको भौतिक अवस्था, उपलब्ध स्वास्थ्य सेवा, जनशक्ति तथा विद्यार्थीलाई अभ्यास गराउन सक्ने क्षमताबारे समेत अध्ययन गरिनेछ।

गेटामा चिकित्सा शिक्षा सञ्चालनका लागि विश्वविद्यालयले विभिन्न शैक्षिक कार्यक्रम अघि बढाउने तयारी गरेको छ। पहिलो चरणमा एमबीबीएस, बीएस्सी नर्सिङ, मेडिकल ल्याब टेक्नोलोजी र अप्टोमेट्री लगायतका कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको हो।

यी कार्यक्रम सञ्चालनमा आएपछि सुदूरपश्चिमका विद्यार्थीलाई चिकित्सा तथा स्वास्थ्य शिक्षा अध्ययनका लागि प्रदेश बाहिर जानुपर्ने बाध्यता केही हदसम्म कम हुने अपेक्षा गरिएको छ।

एमबीबीएस कार्यक्रम सञ्चालनका लागि गेटामा रहेको अस्पताललाई शिक्षण अस्पतालका रूपमा विकास गर्ने तयारीसमेत अघि बढाइएको छ। अस्पतालको क्षमता विस्तारसँगै आवश्यक उपकरण, जनशक्ति र अन्य पूर्वाधार व्यवस्थापनको कामलाई प्राथमिकतामा राखिएको छ।

विश्वविद्यालयले आफ्नै शिक्षण अस्पतालसँगै प्रदेशका अन्य अस्पताललाई पनि विद्यार्थीको क्लिनिकल अभ्यासमा जोड्ने योजना बनाएको छ। यसैक्रममा विश्वविद्यालयले सुदूरपश्चिमका चार अस्पतालसँग सम्झौता गरिसकेको छ।

सेती प्रादेशिक अस्पताल, महाकाली प्रादेशिक अस्पताल, टीकापुर प्रादेशिक अस्पताल र लम्कीचुहा अस्पताललाई विश्वविद्यालयको चिकित्सा शिक्षा कार्यक्रमसँग जोड्ने गरी सम्झौता गरिएको हो।

सम्झौताअनुसार ती अस्पताललाई विद्यार्थीको क्लिनिकल अभ्यास, तालिम तथा स्वास्थ्यसम्बन्धी अनुसन्धानका लागि प्रयोग गर्ने तयारी गरिएको छ। आयोगको टोलीले सम्झौता गरिएका चारवटै अस्पतालको समेत अनुगमन गर्ने जनाइएको छ।

गेटामा चिकित्सा शिक्षा कार्यक्रम सञ्चालनका लागि आवश्यक मापदण्ड पूरा भए–नभएको मूल्यांकन गर्न आयोगको अनुगमनलाई महत्वपूर्ण चरणका रूपमा लिइएको छ। अनुगमनपछि आयोगले पूर्वाधार, जनशक्ति, अस्पताल, प्रयोगशाला, उपकरण तथा शैक्षिक वातावरणको मूल्यांकन गर्नेछ। त्यसकै आधारमा कार्यक्रम सञ्चालनको अनुमति र विद्यार्थी सिट संख्या निर्धारण हुनेछ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.