धनगढीमा एक महिलाको रहस्यमय मृत्यु, श्रीमान् सहित दुई जना पक्राउ

धनगढी  : धनगढी उपमहानगरपालिका–१९ की २५ वर्षीया गुमादेवी जोशीको शंकास्पद अवस्थामा मृत्यु भएपछि घटनाको निष्पक्ष अनुसन्धान र दोषीमाथि कारबाहीको माग गर्दै माइती पक्ष प्रहरीमा पुगेको छ।

गुमादेवीलाई परिवारकै सदस्यबाट कुटपिट भएको र सोही कारण गम्भीर घाइते भई मृत्यु भएको हुनसक्ने माइती पक्षको आशंका छ। मृतकका दाजु टीकाराम जोशीले बहिनी र उनका श्रीमानबीच लामो समयदेखि विवाद हुँदै आएको र असोज ८ गते राति घटना भएको बताएका छन्।

टीकारामका अनुसार असोज ८ गते दिउँसो गुमादेवीले माइती जाने इच्छा व्यक्त गरेकी थिइन्। तर, उनलाई माइती जान नदिएको र सोही राति श्रीमान् तेजराज जोशी, सासुसहित परिवारका सदस्यले कुटपिट गरेको माइती पक्षको आरोप छ।

गम्भीर घाइते अवस्थामा गुमादेवीलाई सोही राति कैलाली अस्पतालमा भर्ना गरिएको थियो। उपचारका क्रममा उनलाई भेन्टिलेटरमा राखिएको र बुधबार मृत्यु भएको परिवारले जनाएको छ।

घटनापछि आत्महत्याको प्रयासको स्वरूप दिन खोजिएको हुनसक्ने आशंका पनि माइती पक्षले गरेको छ। टीकारामका अनुसार गुमादेवी अस्पताल भर्ना भएको दुई दिनपछि मात्रै प्रहरीलाई आत्महत्या प्रयाससम्बन्धी जानकारी दिइएको थियो।

‘यदि आत्महत्याको प्रयास भएको हो भने घटना भएकै राति प्रहरीलाई जानकारी गराउनुपर्ने थियो,’ टीकारामले भने, ‘घटनाको वास्तविकता निष्पक्ष अनुसन्धानबाट बाहिर ल्याउनुपर्छ।’

उनले गुमादेवीका श्रीमान्ले राति नशालु पदार्थ सेवन गरी कुटपिट गरेको आरोपसमेत लगाएका छन्। यद्यपि, यी आरोपको स्वतन्त्र पुष्टि हुन बाँकी छ।

गुमादेवीको शव पोस्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालको शवगृहमा राखिएको छ। पोस्टमार्टम रिपोर्ट र प्रहरी अनुसन्धानपछि मृत्युको वास्तविक कारण खुल्ने प्रहरीले जनाएको छ।

घटनाको अनुसन्धानका क्रममा प्रहरीले मृतकका श्रीमान् तेजराज जोशीसहित अर्का एक युवकलाई नियन्त्रणमा लिएको जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.