अत्तरिया : सुदूरपश्चिम प्रदेशमा एक महिनाको अवधिमा २ सय ९८ वटा सवारी दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ भने ५ सय १४ जना घाइते भएका छन् । सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयले सोमबार अत्तरियामा पत्रकार सम्मेलन गरी कार्तिक १ गतेदेखि २९ गतेसम्मको कार्य विवरण सार्वजनिक गर्दै उक्त तथ्यांक सार्वजनिक गरेको हो ।
प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नवराज कार्कीले सार्वजनिक गरेको विवरण अनुसार दुर्घटनामा परी १२ जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको छ । दुर्घटनामा ७९ जना गम्भीर र ४३९ जना सामान्य घाइते भएका छन् ।
कार्कीका अनुसार चालु आर्थिक वर्ष २०८३\०८४ को कार्तिक महिनामा ट्राफिक नियम उल्लंघन गर्ने ३ हजार ३ सय ९२ वटा सवारीसाधनलाई कारबाही गरी २८ लाख ७४ हजार रुपैयाँ राजस्व संकलन गरिएको छ । त्यस्तै, मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ४ सय ३२ जना चालकलाई कारबाही गरी २ लाख ४१ हजार ५ सय रुपैयाँ जरिवाना गरिएको छ ।
यस अवधिमा सवारी दुर्घटना न्यूनीकरण तथा ट्राफिक सचेतना अभिवृद्धिका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिएको कार्यालयले जनाएको छ । चालक, सहचालक, व्यवसायी, यातायात प्रालिका प्रतिनिधि, पैदलयात्री, विद्यार्थी तथा अन्य सडक प्रयोगकर्तालाई लक्षित गरी ८ सय ४० पटक ट्राफिक सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको थियो । उक्त कार्यक्रमबाट १७ हजार ६ सय १९ जना लाभान्वित भएका छन् ।
दुर्घटना बढी हुने स्थानमा जडान गरिएका सचेतनामूलक बोर्डहरूको मर्मत तथा सुधार गरिएको छ । हालसम्म ४५ स्थानमा मर्मत तथा सुधार कार्य सम्पन्न भएको कार्यालयले जनाएको छ । साथै, कैलालीको धनगढी उपमहानगरपालिका सँगको समन्वयमा पैदलयात्रुका लागि सडक पार गर्न सहज बनाउन जेब्राक्रस निर्माण तथा सुधार कार्ययोजना तयार गरी लागू गरिएको छ । धनगढीको अत्तरिया–धनगढी ६ लेन सडकखण्डमा लेन अनुशासन कायम गर्न सुदूरपश्चिम यातायात प्रालिसँगको समन्वयमा तीनवटा सचेतनामूलक बोर्ड जडान गरिएको छ । यस्तै, सिट क्षमताभन्दा बढी यात्रु बोक्ने दुईवटा सवारीसाधनलाई आवश्यक कारबाहीका लागि यातायात व्यवस्था कार्यालय पठाइएको र १० हजार रुपैयाँ जरिवाना गरिएको छ ।
तीनपाङ्ग्रे सवारीसाधनको अव्यवस्थित पार्किङ व्यवस्थापनका लागि अटो व्यवसायीहरूसँग छलफल गरी पार्किङस्थल तोक्ने तथा स्थानीय तहसँग समन्वय र सहकार्य गर्ने निर्णयसमेत गरिएको छ ।
ट्राफिक व्यवस्थापनका लागि सडक डिभिजन कार्यालय र डोटी दिपायल संघको समन्वय तथा सहकार्यमा ३५ थान ट्राफिक कोन र २० थान कनेक्टर प्राप्त भएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार सार्वजनिक यातायातका सवारीसाधनमा दुईपटक लापसे परीक्षण गर्दा तीन जना चालकमा पोजेटिभ देखिएपछि आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय र सवारी चालक अनुमतिपत्र निलम्बनका लागि यातायात व्यवस्था कार्यालयमा पठाइएको छ ।
त्यस्तै, स्वामित्व नखुलेका १० वटा मोटरसाइकल आवश्यक प्रक्रिया पूरा गरी कैलाली भन्सार कार्यालयमा बुझाइएको छ । गैरकानुनी रूपमा चलाइएका तथा धनी नखुलेका मोटरसाइकल नियन्त्रण गर्ने अभियानअन्तर्गत तीनवटा मोटरसाइकल नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ । यसैगरी, मंसिर तथा अन्य अवसरमा सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले विभिन्न सचेतनामूलक गतिविधि सञ्चालन गर्दै आएको छ ।
प्रहरी कर्मचारीको मनोबल अभिवृद्धि गर्ने उद्देश्यले कार्यालयले कर्मचारी प्रोत्साहनका कार्यक्रमसमेत सुरु गरेको छ । महिनाभरि जन्मदिन पर्ने प्रहरी कर्मचारीको सामूहिक जन्मोत्सव मनाउने, बिदाको दिन ड्युटीबाहेकका प्रहरी कर्मचारीलाई पालो मिलाएर प्रकृति विचरण (हाइकिङ) मा लैजाने तथा महिनामा चारपटक ड्युटीबाहेकका प्रहरी कर्मचारीलाई चलचित्र देखाउने कार्यक्रम सञ्चालन गरिएको छ ।
यस्तै, नवप्रवर्तनात्मक कार्यक्रमअन्तर्गत नवजीवन कलेज धनगढीको सहकार्यमा भाइटीकाको दिन तिहारमा यात्रुहरूको सहजताका लागि धनगढीदेखि गोदावरीसम्म निःशुल्क बस सेवा सञ्चालन गरिएको कार्यालयले जनाएको छ ।