गेटामा स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा ढिलाइप्रति महरको असन्तुष्टि

धनगढी  : नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले जनतासँग टुट्दै गएको पार्टीको सम्बन्ध पुनः विस्तार गर्ने बताएका छन् । नेपाल प्रेस युनियन कैलाली शाखाले सोमबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता महरले पार्टी अहिले अत्यन्तै संकटपूर्ण अवस्थामा रहेको स्वीकार गर्दै जनतासँगको सम्बन्धलाई पुनः मजबुत बनाउने प्रयास भइरहेको बताए ।

चुनाव नजिकिँदै गर्दा पार्टीभित्र केही असमझदारी र विभाजनजस्तो अवस्था देखिए पनि त्यसलाई चिर्दै पार्टीलाई बलियो बनाउने उनको भनाइ थियो । ‘पार्टीसँग नीति र कार्यक्रम छन्, तर कार्यान्वयन पक्ष कमजोर हुँदा त्यसको प्रभावकारिता देखाउन सकिएको छैन,’ उनले भने, ‘अब पार्टीलाई पर्फर्मेन्स बेस बनाउनु आवश्यक छ ।’

विगतमा केन्द्रबाट आएका निर्देशन स्थानीय तह, वडा र तल्लो निकायसम्म कार्यान्वयन गर्ने परम्परा रहेको उल्लेख गर्दै उनले अब तल्लो तहका कार्यकर्ता र जनताका आवाजलाई पार्टीको माथिल्लो तहसम्म पु-याउने अभ्यास थालिएको बताए ।

पार्टीलाई जनतासँग जोड्न र संगठनलाई प्रभावकारी बनाउन यस्तो अभ्यास आवश्यक रहेको उनको भनाइ थियो । यसैगरी, नेता महरले कैलालीको गेटास्थित शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा भइरहेको ढिलाइप्रति असन्तुष्टि व्यक्त गरे ।

विश्वविद्यालयका लागि आवश्यक पूर्वाधार निर्माण भइसकेको, विधेयक पारित भएको तथा पठनपाठनका लागि कोटा र बजेटसमेत व्यवस्था भइसकेको अवस्थामा सञ्चालनमा अवरोध सिर्जना हुनु दुःखद भएको उनले बताए । ‘आज सञ्चालन हुने अवस्थामा पुगेको विश्वविद्यालयलाई अवरोध सिर्जना गर्ने काम भइरहेको छ,’ उनले भने, ‘कुनै व्यक्ति वा समूहलाई मन पर्ने वा नपर्ने विषयभन्दा पनि यो विश्वविद्यालय सुदूरपश्चिमको शिक्षा, स्वास्थ्य र आर्थिक गतिविधिका लागि महत्वपूर्ण छ ।’

विश्वविद्यालय सञ्चालनमा अवरोध पु¥याउने सुनियोजित गतिविधिविरुद्ध सुदूरपश्चिमका जनता एकजुट हुनुपर्नेमा जोड दिँदै उनले सरकारलाई दबाब दिएर विश्वविद्यालय छिटो सञ्चालनमा ल्याउनुपर्ने बताए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.