अत्तरिया : यस वर्षको दसैं र तिहारका लागि नागरिकले राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाबाट नयाँ नोट साट्न पाउने भएका छन् । विगतमा जस्तो सूचना निकालेर निश्चित दिन तोकेर नयाँ नोट वितरण नगरेपनि साट्न आउने नागरिकका लागि त्यो सुविधा निरन्तर उपलब्ध गराइएको राष्ट्र बैंकले जनाएको छ ।
नागरिकले आफूलाई पायक पर्ने बैंक तथा वित्तीय संस्थाका शाखामार्फत पनि नयाँ नोट सटही गर्न सक्ने राष्ट्र बैंकले जानकारी दिएको छ । आफ्नो ग्राहकलाई वितरण गर्नका लागि भनेर बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकबाट नयाँ नोट लिइसकेको राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग प्रमुख अनुज दाहालले बताए ।
यो वर्ष नयाँ नोट स्टकको समस्या नभएकाले पनि नागरिकलाई एक\दुई सेट नोट सटही दिने गरिएको दाहालले बताए । ‘नागरिकले आफूलाई पायक पर्ने बैंक तथा वित्तीय संस्थाका शाखाबाट पनि नयाँ नोट साट्न सक्छन् । त्यसका लागि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई नयाँ नोट दिइसकेको छ,’ दाहालले भने ।
त्यसो त राष्ट्र बैंकले वर्षभरि (नियमित रुपमा) नयाँ अथवा सुकिला नोट सटी सुविधा दिँदै आएको छ । दसैं, तिहार र छठमा नयाँ नोटको माग बढी हुने भएकाले विगतका वर्षमा दसैं नजिकिँदै गर्दा निश्चिम मिति नै तोकेर उत्सवका रुपमा नयाँ नोट वितरण गर्दै आएको थियो ।