अत्तरिया : कैलालीको गेटामा रहेको शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले विभिन्न स्वास्थ्य सेवाका पदमा १५१ कर्मचारी माग गर्दा एक हजार ६६९ जनाको आवेदन परेको छ । करार सेवामा कर्मचारी पदपूर्तिका लागि माग गरिएकोमा आवेदन परेकामध्ये ५४४ जनाको नाम संक्षिप्त सूचीमा समावेश गरिएको छ ।
विश्वविद्यालयको करार सेवामा चिकित्सक तथा स्वास्थ्यकर्मी छनोटसम्बन्धी निर्देशिकाअनुसार योग्यता पूरा गरेका उम्मेदवारको वर्णानुक्रमअनुसार संक्षिप्त सूची सार्वजनिक गरिएको विश्वविद्यालयले जनाएको छ । परीक्षा समितिका अनुसार मेडिकल अधिकृतका १० पदका लागि ६० जनाको आवेदन परेकोमा २९ जना संक्षिप्त सूचीमा परेका छन् । बायोमेडिकल इन्जिनियरको एक पदका लागि नौ जनाले आवेदन दिएकामा छ जना छनोट भएका छन् ।
त्यस्तै, नर्सिङ अधिकृतका १० पदका लागि ११२ जनाको आवेदन परेकोमा ६९ जना सर्टलिस्ट भएका छन् । रेडियोग्राफी अधिकृतको एक पदका लागि १० जनाको आवेदन परेकोमा पाँच जना र फार्मेसी अधिकृतका दुई पदका लागि ४८ जनाको आवेदन परेकोमा सात जना संक्षिप्त सूचीमा परेका छन् ।
फिजियोथेरापी अधिकृतका दुई पदका लागि छ जनाले आवेदन दिएकोमा पाँच जना, ल्याब टेक्नोलोजिस्टका तीन पदका लागि ५९ जनाले आवेदन दिएकोमा २५ जना सर्टलिस्ट भएका छन् ।
सबैभन्दा धेरै आवेदन स्टाफ नर्सका ९० पदका लागि परेको छ । उक्त पदमा ५४२ जनाले आवेदन दिएका छन् भने १८५ जनाको नाम संक्षिप्त सूचीमा समावेश गरिएको छ ।
त्यस्तै, ल्याब टेक्निसियनका १० पदका लागि ३१८ जनाको आवेदन परेकोमा ८० जना सर्टलिस्ट भएका छन् । रेडियोग्राफरका छ पदका लागि ८२ जनाले आवेदन दिएकोमा ३९ जना छनोट भएका छन् ।
फिजियोथेरापी सहायकका दुई पदका लागि नौ जनाको आवेदन परेकोमा छ जना, तथा फार्मेसी सहायकका १० पदका लागि ३८४ जनाले आवेदन दिएकामा ७१ जना संक्षिप्त सूचीमा परेका छन् ।
अब संक्षिप्त सूचीमा परेका उम्मेदवारको अन्तर्वार्तापछि करार सेवामा कर्मचारी नियुक्त गरिनेछ । अन्तर्वार्ता असोज २० गतेदेखि सुरु हुने जनाइएको छ ।