अत्तरिया : गोदावरी नगरपालिका–१ चैतन्यपुर स्थित श्री नवदुर्गा भगवती मन्दिरमा श्री शारदीय नवरात्रा दुर्गापूजा, रामकथा, रामलीला तथा श्रृङ्गारिक महाआरती आयोजना हुने भएको छ ।
श्री नवदुर्गा भगवती मन्दिर समितिको आयोजनामा असोज २५ गते देखि ३१ गतेसम्म धार्मिक तथा सांस्कृतिक कार्यक्रम सञ्चालन हुने शनिबार अत्तरियामा पत्रकार सम्मेलन मार्फत् आयोजकले जानकारी दिएको हो । कार्यक्रम अन्तर्गत नेपाली भाषाका श्रृङ्गारिक प्रखर कथा वाचक अच्युत शरण महाराज (धिताल) को कथा वाचन तथा राष्ट्रिय उद्घोषिका समीक्षा दास (गिरी) को प्रस्तुति रहने जनाएको छ । कार्यक्रमको सचिवालय उद्घाटन समेत गरिएको छ ।
कार्यक्रम तालिका अनूसार बिहान दुर्गासप्तशती पाठ, पूजाआराधना तथा शान्तिपाठ, दिउँसो कथा प्रवचन, राष्ट्रिय कलाकारद्वारा भजन प्रस्तुति, आरती तथा पञ्चप्रदीप प्रज्वलनलगायतका धार्मिक तथा सांस्कृतिक कार्यक्रम सञ्चालन हुने जनाएको छ ।
पत्रकार सम्मेलनका प्रमुख अतिथि गोदावरी नगरपालिकाका प्रवक्ता तथा वडा नं. १ का वडाध्यक्ष गोपालदत्त भट्टले कला, संस्कृति र विगतका परम्पराहरू लोप हुँदै गएको भन्दै यस्ता कार्यक्रमले मौलिक संस्कृति संरक्षणमा सहयोग पुग्ने बताएका छन् । उनले युवा पुस्तालाई आफ्नो कला, संस्कृति र परम्परासँग जोड्दै पुस्तान्तरण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएकोमा आयोजकलाई धन्यवाद व्यक्त गरे ।
त्यस्तै रामलीला समिति संयोजक उत्तम महराले धर्म र संस्कृतिको संरक्षण सँगै युवापुस्तालाई सकारात्मक तथा रचनात्मक गतिविधिमा जोड्ने उद्देश्यले रामलीला आयोजना गर्न लागिएको बताए । उनले पछिल्लो समय युवापुस्तामा धार्मिक तथा सांस्कृतिक गतिविधि प्रतिको रुचि घट्दै गएको र कतिपय युवा कुलत तथा नकारात्मक गतिविधिमा फस्ने अवस्था रहेकाले धर्म, संस्कार र संस्कृति सँग जोड्ने वातावरण निर्माण गर्न यस्ता कार्यक्रम आवश्यक रहेको बताए ।
संयोजक महराले रामलीला तथा धार्मिक कार्यक्रमले युवालगायत धर्म र संस्कृतिप्रति आस्थावान सम्पूर्ण व्यक्तिलाई प्रेरणा प्रदान गर्ने अपेक्षा गरिएको बताए । उनले धर्म र संस्कृतिको संरक्षणसँगै युवाहरूमा स्वच्छ मन, सकारात्मक सोच र धर्मप्रतिको आस्था विकास होस् भन्ने हाम्रो उद्देश्य हो । कार्यक्रमबाट संकलन हुने रकम मन्दिरको सर्वाङ्गीण विकासमा लगानी गरिनेछ, उनले भने ।
आयोजकले धार्मिक तथा सांस्कृतिक कार्यक्रमलाई सफल बनाउन स्थानीयवासी, श्रद्धालु तथा धर्मप्रेमी सम्पूर्णलाई सहभागिता र सहयोगका लागि आग्रह गरेको छ । साथै रामलीला कार्यक्रम अन्तर्गत एक दिनको आरती कर्ताका लागि रु. ३ हजार १ सय र ब्राह्मण भोजनका लागि रु. ५ हजार १सय सहयोग गर्न सकिने व्यवस्था गरिएको छ ।