कैलारी गाउँपालिकामा गोरुगाडालाई मोटरसाइकलले ठक्कर दिँदा एक जनाको मृत्यु

अत्तरिया  : कैलालीको कैलारी गाउँपालिका ३ भडरीस्थित हुलाकी सडकमा मोटरसाइकलले गोरुगाडालाई पछाडिबाट ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

शुक्रबार बेलुका पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको से ५ प ३४६५ नम्बरको मोटरसाइकलले सोही दिशातर्फ गइरहेको गोरुगाडालाई पछाडिबाट ठक्कर दिएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक भजनी नगरपालिका १ बस्ने १८ वर्षीय सुजन चौधरी गम्भीर घाइते भएका थिए । उपचारका लागि धनगढीस्थित निसर्ग अस्पताल लगिएका चौधरीको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

मोटरसाइकलको पछाडि सवार भजनी नगरपालिका १ की ५० वर्षीया ज्ञानमती डगौरा र गोरुगाडा चालक कैलारी गाउँपालिका ३ भडरी बस्ने ५५ वर्षीय खुसीराम चौधरी पनि घाइते भएका छन् ।

ज्ञानमतीको निसर्ग अस्पतालमा उपचार भइरहेको छ भने गोरुगाडा चालक खुसीरामलाई उपचारपछि प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.