अत्तरिया : पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सलाई जितका लागि १४६ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखरा २० ओभरमा ७ विकेट गुमाउँदै १४५ रनमा समेटिएको हो।
पोखराका लागि ओपनर दिनेश खरेलले ४ रन मात्रै बनाउन सके। तर अर्का ओपनर मेहदी हसनले २१ बलमा ३२ रन बनाए। कप्तान कुशल भुर्तेलले १७ बलमा २१ रन बनाउँदा बंगलादेशी क्रिकेटर शकिब अल हसनले १४ रनको योगदान गरे।
त्यसैगरी सदीरा समरविक्रमाले ८, धनञ्जय लक्षणाले ११ बनाए भने किरण ठगुन्न १ रनमा आउट भए। नटआउट रहेका अर्जुन घर्तीले २५ बलमा ४० रनको सर्वाधिक योगदान गरे। अर्का नटआउट बिपिन खत्रीले ५ रनको योगदान गर्दा पोखराले ९ अतिरिक्त रन पायो।
बलिङतर्फ सुदूरपश्चिमका स्कट कुग्लेइन महंगो साबित भए। उनले ४ ओभरमा ४९ रन दिएर १ विकेट मात्र लिन सके। सुदूरका अनिल खरेलले ३ ओभरमा २३ रन दिएर ३ विकेट लिँदा हेमन्त धामी र कप्तान दीपेन्द्र सिंह ऐरीले समान १ विकेट लिए। अविनाश बोहरा, ईशान पाण्डे र सैफ जैब विकेटविहीन भए।
सुदूरपश्चिमले केही बेरमा जवाफी ब्याटिङ गर्नेछ।