मौसम प्रतिकूल भएपछि दुर्गालक्ष्मीको भलिबल प्रतियोगिता सारियो, अब पुषमा हुने

अत्तरिया  : कैलालीको अत्तरिया स्थित दुर्गालक्ष्मी नमुना माध्यमिक विद्यालयले आयोजना गर्ने प्रदेश स्तरीय छात्र तथा नगरस्तरीय छात्रा भलिबल प्रतियोगिताको मिति परिवर्तन गरिएको छ ।

विद्यालयले बुधबार पत्र जारी गर्दै १४ गते देखि सञ्चालन गर्ने भनिएको विद्यालयस्तरीय अन्डर–१९ प्रथम सुदूरपश्चिम प्रदेशस्तरीय छात्र तथा गोदावरी नगरस्तरीय छात्रा भलिबल प्रतियोगिता प्रतिकूल मौसम र तिहार पर्व नजिकिएका कारण सारिएको जनाएको छ ।

विद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार अब प्रतियोगिता २०८३ साल पुस १७ देखि १९ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा कक्षा १२ सम्म अध्ययनरत १९ वर्षमुनिका विद्यार्थी खेलाडीहरूले सहभागिता जनाउन पाउनेछन्। सहभागी टोलीले मंसिर ३ गतेसम्म नाम दर्ता गरिसक्नुपर्ने विद्यालयले जनाएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिदत्त भट्टराईले विद्यार्थीबीच सहकार्य र सम्बन्ध विस्तार, शारीरिक तथा मानसिक विकास र खेल प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको बताए ।

खेलकुदमार्फत विद्यार्थीलाई कुलतबाट टाढा राख्नसमेत प्रतियोगिताले सहयोग पुग्ने उनको विश्वास छ । प्रतियोगितामा सहभागी टोलीका खेलाडीहरूको बसोबास विद्यालयमै व्यवस्थापन गरिने जनाइएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.