एनपीएलमा पोखरा र सुदूरपश्चिम भिड्दै

अत्तरिया  : नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा बुधबार पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल साँझ ५ बजे सुरु हुनेछ।

यसअघिका दुई संस्करणमा सुदूरपश्चिमसँग दुवै खेल हारेको पोखरा यसपटक त्यो क्रम तोड्ने लक्ष्यमा छ। कप्तान कुशल भुर्तेलको नेतृत्वमा पोखराले प्रतियोगिताको पहिलो खेल खेल्दैछ। अर्कोतर्फ, दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम पहिलो हार बिर्सेर पुनरागमन गर्न चाहन्छ।

सुदूरपश्चिमले आफ्नो पहिलो खेलमा लुम्बिनी लायन्ससँग सात विकेटको हार बेहोरेको थियो। उक्त खेलमा टोली ८७ रनमै समेटिएको थियो। लगातार दुई संस्करणको फाइनलमा पुगे पनि उपाधि जित्न नसकेको सुदूरपश्चिम यसपटक उपाधि लक्ष्यसहित मैदानमा छ। पोखरा भने यसअघि प्लेअफसम्म पुग्न नसकेको इतिहास बदल्न चाहन्छ।

यसैबीच, मंगलबारका खेलमा चितवन राइनोजले विराटनगर किङ्सलाई आठ रनले तथा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई १९ रनले पराजित गरेका थिए। आठ टोली सहभागी प्रतियोगिताको लिग चरणपछि शीर्ष चार टोली प्लेअफमा पुग्नेछन्। बुधबारको खेल दुवै टोलीका लागि अंकतालिकामा अघि बढ्ने महत्त्वपूर्ण अवसर हुनेछ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.