बुढीतोला सडक भासिएको तीन वर्ष बित्दा पनि कालोपत्रे हुन सकेन

अत्तरिया : सुदूरपश्चिमका सात पहाडी जिल्लालाई जोड्ने महाकाली राजमार्गअन्तर्गत गोदावरी–खानीडाँडा सडकको बुढीतोला खण्ड भासिएको तीन वर्षभन्दा बढी समय बितिसक्दा पनि पुनर्निर्माणको काम पूरा हुन सकेको छैन ।

कैलालीको गोदावरी नगरपालिका–४ स्थित बुढीतोलामा भासिएको ५ सय ७० मिटर सडकमा पहिरो नियन्त्रणको काम सम्पन्न भए पनि कालोपत्रे हुन सकेको छैन ।
२०८० साउन २३ गते अविरल वर्षापछि बुढीतोला क्षेत्रमा पहिरो जाँदा सडक भासिएको थियो । त्यसको करिब एक महिनापछि सामान्य मर्मत गरेर दुईतर्फी यातायात सञ्चालन गरिएको थियो । तर,
सडकको पुनर्निर्माणमा भएको ढिलाइले यात्रु तथा स्थानीयले अझै सास्ती खेप्नुपरेको छ ।

सडक डिभिजन कार्यालय महेन्द्रनगरका इन्जिनियर पंकजसिंह धामीका अनुसार पटकपटक मर्मत गर्दा पनि सडक टिक्न सक्ने अवस्था नदेखिएपछि सडक विभागको अध्ययन टोलीले उक्त क्षेत्रको अध्ययन गरेको थियो । अध्ययनका क्रममा जमिनमुनि पानीको मुहान फेला परेको थियो । भूमिगत पानीको उचित व्यवस्थापन नगरी सडक निर्माण गर्दा पुनः क्षति हुन सक्ने निष्कर्षपछि पुनर्निर्माणको काम लम्बिएको उनले बताए ।

धामीका अनुसार भासिएको सडकको मर्मत तथा पहिरो नियन्त्रणका लागि सात करोड ३८ लाख ७० हजार रुपैयाँको ठेक्का सम्झौता गरिएको थियो । सडक क्षेत्रमा भूमिगत जलस्रोत व्यवस्थापन गर्न पाँचवटा इनार निर्माण गरिएका छन् । जमिनबाट निस्किने पानी इनारमा जम्मा गरी सुरक्षित रूपमा निकास गर्न सबसर्फेस ड्रेनेज निर्माण गरिएको छ । सडकको माथिल्लो भागबाट आउने पानीको निकासका लागि दुई सयवटा पाइप जडान गरिएका छन् । सडक फराकिलो बनाउनुका साथै थप भूस्खलन रोक्न बायो–इन्जिनियरिङ प्रविधिसमेत अपनाइएको छ ।

पहिरो नियन्त्रणको काम सम्पन्न भएपछि गत पुसमा बुढीतोला खण्डसहित गोदावरीको गाइमारेदेखि सहजपुरसम्मको २१ किलोमिटर सडक मर्मतका लागि ठेक्का सम्झौता भएको थियो । तर, निर्माण सामग्रीको मूल्यवृद्धिका कारण काम अपेक्षाअनुसार अघि बढ्न नसकेको इन्जिनियर धामीले बताए । ‘ठेकेदारहरूसँगको प्रक्रिया मिल्यो भने मंसिरसम्म काम सुरु हुन्छ । प्रक्रिया नमिले वैशाख–जेठसम्म कुर्नुपर्ने हुन सक्छ,’ धामीले भने ।

सुदूरपश्चिमका सात पहाडी जिल्लालाई जोड्ने यो सडक आवागमनको माध्यम मात्र नभई स्थानीयको दैनिक जीवन, व्यापार, पर्यटन र समग्र विकाससँग जोडिएको महत्त्वपूर्ण पूर्वाधार हो । हरेक वर्ष पहिरोका कारण अवरुद्ध हुने यस राजमार्गको अधिकांश भाग जीर्ण अवस्थामा छ । १३५ किलोमिटर लामो राजमार्गमध्ये ६९ किलोमिटर कैलालीमा तथा ३३–३३ किलोमिटर डोटी र डडेल्धुरामा पर्छ ।
२०२९ सालमा ट्र्याक खोलिएको यस राजमार्गमा २०४६ सालदेखि कालोपत्रेको काम सुरु भई २०५२ सालमा सम्पन्न भएको थियो । त्यसयता पर्याप्त स्तरोन्नति र दीर्घकालीन मर्मत हुन नसक्दा राजमार्गका विभिन्न खण्डमा समस्या दोहोरिँदै आएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.