अत्तरियामा ‘गोदावरी मेयर कप’ प्रदेश तथा नगरस्तरीय ब्याडमिन्टन प्रतियोगिता हुँदै

अत्तरिया:- कैलालीको गोदावरी नगरपालिकामा प्रथम संस्करणको ‘गोदावरी मेयर कप’ प्रदेश तथा नगरस्तरीय ब्याडमिन्टन प्रतियोगिता आयोजना हुने भएको छ।

गोदावरी खेलकुद विकास मञ्चको आयोजनामा सुदूरपश्चिम प्रदेशस्तरीय ‘बी लेभल’ र गोदावरी नगरस्तरीय ‘सी लेभल’ ब्याडमिन्टन प्रतियोगिता सञ्चालन हुन लागेको हो।

सोमबार आयोजित पत्रकार सम्मेलन मार्फत आयोजकले नगरस्तरीय ‘सी लेभल’ प्रतियोगिता आगामी कात्तिक १८ गतेदेखि र प्रदेशस्तरीय ‘बी लेभल’ प्रतियोगिता कात्तिक २० गते देखि सञ्चालन हुने जनाएको छ।

 

प्रदेशस्तरीय ‘बी लेभल’ प्रतियोगितामा सुदूरपश्चिम प्रदेशभित्रका खेलाडीहरूले सहभागिता जनाउन पाउनेछन्। प्रतियोगितामा प्रथम हुने टोलीले नगद ५१ हजार १११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। यस्तै, द्वितीय हुने टोलीले ३१ हजार १११ रुपैयाँ तथा तृतीय हुने टोलीले १० हजार १११ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ।

यस्तै ‘बी लेभल’ प्रतियोगितामा सहभागी हुन चाहने टोलीले कात्तिक १९ गते साँझ ४ बजेसम्म नाम दर्ता गराइसक्नु पर्ने

जनाएको छ। निर्धारित समयपछि आएका टोलीको दर्ता नगरिने आयोजकले स्पष्ट पारेको छ। प्रतियोगितामा सहभागी हुन प्रतिटोली दुई हजार रुपैयाँ दर्ता शुल्क तोकिएको छ। प्रतियोगिता कात्तिक २० गते बिहान ९ बजेदेखि सञ्चालन हुनेछ।

त्यसैगरी, गोदावरी नगरस्तरीय ‘सी लेभल’ प्रतियोगितामा गोदावरी नगरपालिका भित्रका खेलाडी तथा कर्मचारीहरूले सहभागिता जनाउन पाउनेछन्। यस प्रतियोगितामा प्रथम हुने टोलीले १५ हजार १११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने द्वितीय हुने टोलीले ५ हजार १ सय ११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। तृतीय हुने टोलीलाई सान्त्वना पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।

‘सी लेभल’ प्रतियोगितामा सहभागी हुन इच्छुक खेलाडीले कात्तिक १७ गते साँझ ४ बजेसम्म नाम दर्ता गराइसक्नुपर्नेछ। यस प्रतियोगितामा व्यक्तिगत रूपमा नाम दर्ता गर्नुपर्ने र प्रतिव्यक्ति ५०० रुपैयाँ दर्ता शुल्क लाग्नेछ।

दर्ता भएका खेलाडीमध्ये आयोजकले सिनियर र जुनियर खेलाडीलाई समायोजन गरी टोली निर्माण गर्नेछ। आयोजकले गठन गरेको टोलीले मात्र प्रतियोगितामा प्रतिस्पर्धा गर्न पाउने व्यवस्था गरिएको छ। प्रतियोगिता मैत्रीपूर्ण रूपमा सञ्चालन गरिने र खेलको समय तालिका टाइसिटमार्फत सार्वजनिक गरिने आयोजकले जनाएको छ।

प्रतियोगिता सञ्चालनका क्रममा कुनै विवाद उत्पन्न भएमा आयोजकको निर्णय नै अन्तिम हुने बताइएको छ। प्रतियोगितालाई सभ्य, भव्य र व्यवस्थित रूपमा सम्पन्न गर्न सबै पक्षको सहयोग आवश्यक रहेको आयोजकले आग्रह गरेको छ।

स्थानीय तथा प्रदेशस्तरमा ब्याडमिन्टन खेलको विकास, खेलाडीको प्रतिभा पहिचान र खेलकुद गतिविधिलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.