डा. गोविन्द केसीको उपचारका लागि गेटा विश्वविद्यालयमा आईसीयू बेडसहित स्वास्थ्य टोली तयारी अवस्थामा

अत्तरिया  : इलाममा आमरण अनशन बसेका प्रा. डा. गोविन्द केसीको उपचारका लागि कैलालीको गोदावरी नगरपालिका गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले आईसीयू बेड तयारी अवस्थामा राखेको जनाएको छ ।

चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारका विभिन्न माग राख्दै कात्तिक १२ गतेदेखि आफ्नो २५ औँ सत्याग्रह सुरु गरेका डा. केसीको स्वास्थ्य अवस्था बिग्रिएपछि विश्वविद्यालयले उनलाई उपचारका लागि गेटामा ल्याउमा उपचारका लागि तयारी अवस्थामा रहेको जनाएको हो ।

विश्वविद्यालयका उपकुलपति प्रा. डा. सुनिलकुमार जोशीले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको जानकारीअनुसार डा. केसीलाई गेटा ल्याएर उपचार गराउने उद्देश्यले विश्वविद्यालयको टोलीले तयारी गरिएको थियो । उनलाई हवाई उद्धारमार्फत गेटा ल्याउन मन्त्रालयको टोलीसँग निरन्तर सम्पर्क र समन्वय गरिएको उपकुलपति जोशीले बताए ।

विश्वविद्यालयले गम्भीर अवस्थाका बिरामीलाई आवश्यक विशेष उपचार तथा निगरानी प्रदान गर्न सक्ने गरी आईसीयू तयारी अवस्थामा राखेको जनाएको छ । डा. केसीका लागि छुट्टै बेडको व्यवस्था गर्नुका साथै चिकित्सक तथा नर्सिङ टोलीलाई समेत तयारी अवस्थामा राखिएको विश्वविद्यालयको भनाइ छ ।

तर, डा. केसीले भने काठमाडौं जान चाहना व्यक्त गरेपछि उनलाई काठमाण्डौं लगिएको छ । डा. केसी गेटास्थित यही विश्वविद्यालयको पूर्वाधार, जनशक्ति र चिकित्सा शिक्षा सञ्चालनको तयारीमाथि प्रश्न उठाउँदै अनशनमा बसेका थिए । न्यूनतम पूर्वाधार, आवश्यक प्राज्ञिक जनशक्ति र कानुनी मापदण्ड पूरा नगरी एमबीबीएस तथा नर्सिङलगायतका कार्यक्रम सञ्चालन गर्न सिट निर्धारण गरिएको भन्दै उनले त्यसको खारेजी माग गरेका छन् ।

 

 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.