अत्तरियामा प्रदेशस्तरीय ‘मेयर कप’ बी लेभल ब्याडमिन्टन प्रतियोगिता सुरु

अत्तरिया:- कैलालीको अत्तरियामा सुदूरपश्चिम प्रदेशस्तरीय ‘मेयर कप’ बी लेभल ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ। गोदावरी खेलकुद विकास मञ्चको आयोजनामा सञ्चालन भइरहेको प्रतियोगिताको उद्घाटन गरिएको हो।

खेलकुद विकास मञ्चका अध्यक्ष तेज बहादुर खड्काको सभापतित्वमा आयोजित उद्घाटन समारोहमा गोदावरी नगरपालिकाकी नगर उपप्रमुख शारदा देवी रोकाया प्रमुख अतिथिका रूपमा सहभागी थिइन्।

गोदावरी नगरपालिकाको मुख्य प्रायोजनमा आयोजना गरिएको प्रतियोगितामा ३६ टोलीले सहभागिता जनाएका छन्।

प्रतियोगितामा सुदूरपश्चिम प्रदेशभित्रका खेलाडीहरूको सहभागिता रहेको आयोजकले जनाएको छ। प्रतियोगितामा प्रथम हुने टोलीले नगद ५१ हजार १११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। यस्तै, द्वितीय हुने टोलीले ३१ हजार १११ रुपैयाँ तथा तृतीय हुने टोलीले १० हजार १११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ।

प्रतियोगिता सञ्चालनका क्रममा कुनै विवाद उत्पन्न भएमा आयोजकको निर्णय नै अन्तिम हुने जनाइएको छ। प्रतियोगितालाई सभ्य, भव्य र व्यवस्थित रूपमा सम्पन्न गर्न आयोजकले सबै पक्षसँग सहयोगको आग्रहसमेत गरेको छ।

स्थानीय तथा प्रदेशस्तरमा ब्याडमिन्टन खेलको विकास गर्ने, खेलाडीहरूको प्रतिभा पहिचान तथा प्रवर्द्धन गर्ने र खेलकुद गतिविधिलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.