कञ्चनपुर : खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय महेन्द्रनगरले कञ्चनपुरमा धान खरिद सुरु गरेको छ । कम्पनीमा बिहीबार र शुक्रबार धान बिक्री गर्न आउने किसानको भिड लागेको छ । किसानले धान भित्र्याएको करिब डेढ महिनापछि मात्रै कम्पनीले खरिद प्रक्रिया अघि बढाएको हो ।
समयमै सरकारी मूल्य पाउन नसक्दा धेरै किसानले सस्तोमै व्यापारी तथा स्थानीय गल्लामा बिक्री गर्न बाध्य भएको गुनासो पनि गरेका छन् । कम्पनीको महेन्द्रनगर कार्यालयका प्रमुख प्रकाश न्यौपानेका अनुसार केन्द्रीय कार्यालयबाट कोटा निर्धारणसम्बन्धी पत्र ढिलो आएकाले प्रक्रिया केही लम्बिएको हो ।
कम्पनीले यस वर्ष एक जना किसानबाट बढीमा ३० क्विन्टलका दरले जिल्लाभरबाट आठ हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य राखेको न्यौपानेले जानकारी दिए । कम्पनीले गत वर्ष सात हजार क्विन्टल धान खरिद गरेको थियो ।
कम्पनीले निर्धारण गरेको सीमित कोटाका कारण टोकन पाउन नसकेका किसान निराश भएर घर फर्किएका छन् । भीमदत्त नगरपालिकाका रामदत्त भट्टले बिहानैदेखि लाइनमा बसे पनि टोकन नपाएपछि घर फर्किनु परेको बताए । सरकारले किसानको उत्पादन खरिद गर्ने परिणाम बढाउनुपर्ने उनको भनाइ छ ।
किसानले उत्पादन गरेको धान खरिदका लागि सरकारले पर्याप्त बजेट निर्धारण नगर्दा समर्थन मूल्यको वास्तविक लाभ पाउन नसकेकोमा किसानहरूको गुनासो छ ।