तिहारलाई लक्षित गर्दै गोदावरी नगरपालिकाको अत्तरिया बजार अनुगमन
फुटपाथ व्यापारले दर्तावाला व्यवसायी मारमा परेको गुनासाे
अत्तरिया:- कैलालीको गोदावरी नगरपालिकाले नेपालीहरूको चाड तिहार (शुभदीपावली)लाई लक्षित गरी अत्तरिया बजार क्षेत्रमा अनुगमन गरेको छ।
चाडपर्वको समयमा बजारमा अखाद्य, म्याद गुज्रिएका खाद्यवस्तु तथा प्रतिबन्धित प्लास्टिकजन्य सामग्रीको बिक्री–वितरण हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै अनुगमन गरिएको हो।
शनिबार नगरपालिकाले खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीको सहकार्यमा अत्तरिया बजार क्षेत्रका विभिन्न पसल तथा व्यवसायमा अनुगमन गरेको हो।

अनुगमनका क्रममा खाद्यवस्तुको गुणस्तर, उपभोग्य मिति, मूल्यसूची तथा प्रतिबन्धित प्लास्टिकजन्य सामग्रीको प्रयोग र बिक्री–वितरणको अवस्थाबारे निरीक्षण गरिएको जनाइएको छ।
गोदावरी नगरपालिका आर्थिक विकास शाखाका प्रमुख समुद्र बहादुर धामीले उपभोक्ताको हित संरक्षण गर्ने उद्देश्यले चाडपर्वलक्षित बजार अनुगमनलाई निरन्तरता दिइएको बताए। उनले विशेषगरी प्रतिबन्धित प्लास्टिकजन्य सामग्रीको बिक्री–वितरणमा रोक लगाउने तथा त्यस्ता सामग्री फेला परेमा जफत गर्ने गरिएको जानकारी दिए।
चाडपर्वका समयमा हुन सक्ने अवैध कारोबार तथा अखाद्य र म्याद नाघेका वस्तुको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिइएको धामीले बताए। उनका अनुसार व्यापारीहरूलाई म्याद नाघेका तथा अखाद्य वस्तु बिक्री–वितरण नगर्न सचेत गराइएको छ। साथै, मिठाईमा अनिवार्य रूपमा लेबल, उत्पादन मिति र उपभोग गर्न सकिने अन्तिम मिति उल्लेख गर्न पनि निर्देशन दिइएको छ।

उनले उपभोक्तालाई समेत सामान खरिद गर्दा उपभोग्य मिति अनिवार्य रूपमा जाँच गर्न तथा म्याद नाघेका खाद्यवस्तुको खरिद र प्रयोग नगर्न आग्रह गरेका छन्।
यस्तै, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीका नायब प्राविधिक सहायक तोयनाथ ओझाले नगरपालिकाको आह्वानमा विशेषगरी तिहारलाई लक्षित गरी अत्तरिया बजारका मिठाई पसलमा अनुगमन गरिएको जानकारी दिए।
उनका अनुसार खाद्य विभागको निर्णयअनुसार मिठाई पसलहरूले शोकेसमा राखिएका मिठाईमा उपभोक्ताले सहजै देख्न सक्ने गरी लेबल अनिवार्य रूपमा राख्नुपर्ने व्यवस्था छ। मिठाई उत्पादन भएको मिति, उपभोग गर्न सकिने अवधि तथा प्रयोग गरिएको तेल र घिउको विवरणसमेत उपभोक्ताले देख्ने गरी राख्न पसलेहरूलाई सचेत गराइएको उनले बताए।
फुटपाथ व्यापारले दर्तावाला व्यवसायी मारमा

अत्तरिया बजारमा चाडपर्व नजिकिएसँगै फुटपाथ व्यापार बढ्दा बजार क्षेत्र अस्तव्यस्त बनेको छ। पालिकाले अत्तरिया बजारमा अस्थाई रुपले ठेला, छाप्रामा व्यापार गर्न २८ जना व्यक्तिहरुले संयुक्त रुपमा दिएको निवेदन उपर कारबाही हुँदा सवारी साधन तथा फुटपाथ र अन्य व्यवसायीहरुलाई अवरोध नहुने गरी प्लाष्टिकजन्य सामग्रीहरु बिक्री बितरणमा पुर्ण रुपले रोक लगाउँदै मिति २०८३/०७/२० गते देखि २०८३/०७/२४ गते सम्म ठेलारेडा लगाई व्यापार गर्न व्यक्तिहरुलाई आदेशानुसार अस्थाई अनुमती प्रदान गरेको थियाे ।साथै निर्देशन बमोजिम नभई अन्यथा भए/गरेको पाईएमा ठेला/रेडा/सरसामान जफत गरि नियमानुसार कारबाही भई जाने भनी पत्र जारी गरेको थियो।
विशेषगरी अत्तरिया चोकदेखि महेन्द्रनगर रोडसम्म सडकपेटीमा सामान राखेर व्यापार गर्दा पैदलयात्रीलाई आवतजावतमा कठिनाइ हुनुका साथै दुर्घटनाको जोखिम बढेको छ।
फुटपाथ अतिक्रमणका कारण पैदलयात्रीसँगै कानुनी प्रक्रिया पूरा गरी व्यवसाय सञ्चालन गर्दै आएका दर्तावाला व्यापारीसमेत मारमा परेको व्यवसायीहरूको गुनासो छ।
नगरपालिकाले फुटपाथ व्यवस्थापन र अनुगमनमा प्रभावकारी कदम नचालेको भन्दै व्यवसायीहरूले असन्तुष्टि व्यक्त गरेका छन्। उनीहरूले बजार व्यवस्थापन, पैदलयात्रीको सहज आवागमन र व्यवसायीको हित संरक्षणका लागि नगरपालिकासँग प्रभावकारी कदम चाल्न माग गरेका छन्।