संगम बहुउद्देश्यीय सहकारीको आठौँ वार्षिक साधारण सभा, १८ करोड ६४ लाखको कारोबार
१० लाख ३१ हजार रुपैयाँ खुद नाफा, सदस्य संख्या २ हजार २५० पुग्यो
अत्तरिया : कैलालीको गोदावरी नगरपालिका–१, अत्तरियामा प्रधान कार्यालय रहेको संगम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको आठौँ बार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ।
संस्थाका अध्यक्ष चन्द्रबहादुर विष्टको सभापतित्वमा सम्पन्न साधारण सभाका प्रमुख अतिथि राष्ट्रिय सहकारी बैंकका सञ्चालक समिति सदस्य मनमोहन विष्ट रहेका थिए भने विशिष्ट अतिथिमा गोदावरी नगरपालिका सहकारी शाखा प्रमुख दिव्यराज जोशीको उपस्थिति रहेको थियो।
सभामा संस्थाका अध्यक्ष विष्टले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए। त्यसैगरी, संस्थाका कोषाध्यक्ष दीर्घराज अवस्थीले आर्थिक प्रतिवेदन तथा लेखा समिति सदस्य दिवाकर सिंह ठकुरीले लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए।

साधारण सभामा प्रस्तुत प्रतिवेदनअनुसार संस्थाले आर्थिक वर्ष २०८२\०८३ मा विभिन्न शीर्षकका कारोबारमा वृद्धि गर्दै कुल १८ करोड ६४ लाख ९५ हजार २८६ रुपैयाँ बराबरको आर्थिक कारोबार गरेको छ। उक्त कारोबारबाट संस्थाले १० लाख ३१ हजार २० रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ।
२०७५ सालमा ३० जना शेयर सदस्य र ६ लाख रुपैयाँ शेयर पुँजीबाट सञ्चालनमा आएको संस्थामा हाल सदस्य संख्या वृद्धि भई २ हजार २५० पुगेको छ। संस्थाको कुल शेयर पुँजी १ करोड ६० लाख ३३ हजार ८०० रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ। त्यसैगरी, संस्थाले कर्जातर्फ १४ करोड १७ लाख ७६ हजार ५३४ रुपैयाँ लगानी गरेको छ भने निक्षेपतर्फ १२ करोड ४३ लाख १३ हजार १३३ रुपैयाँ बचत संकलन गरेको छ।

संस्थाले सदस्यहरूको माग, आवश्यकता र अपेक्षालाई मध्यनजर गर्दै बचत तथा ऋण कारोबार सँगै उनीहरूको आर्थिक तथा सामाजिक विकासमा समेत जोड दिँदै आएको जनाएको छ। सदस्यहरूले उत्पादन गरेका कृषि उपजको उचित बजारीकरण गर्ने उद्देश्यले संस्थाले संगम खाद्य उद्योग ९मिल० सञ्चालन गर्दै आएको छ। साथै, सदस्यहरूलाई सुलभ मूल्यमा खाद्य वस्तु उपलब्ध गराउने व्यवस्था पनि गरेको छ।
यस्तै साधारण सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि राष्ट्रिय सहकारी बैंकका सञ्चालक समिति सदस्य मनमोहन विष्टले सहकारीले सदस्यहरूको आर्थिक विकाससँगै उनीहरूले उत्पादन गरेका कृषि उपजको उचित बजारीकरणमा समेत महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताए। सदस्यहरूको उत्पादनलाई बजारसम्म पुर्याउने उद्देश्यलेयस संगम सहकारी संस्थाले खाद्य मिल सञ्चालन गर्नुका साथै सदस्यहरूलाई सुलभ मूल्यमा खाद्य वस्तु उपलब्ध गराउने व्यवस्था गर्नु सकारात्मक कार्य भएको उनको भनाइ थियो।
उनले सहकारीमा सदस्यहरूले निर्धक्क भएर बचत गर्न सक्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिँदै सहकारीले सुरक्षा कोषसमेत सञ्चालन गरेको उल्लेख गरे। सहकारीले सदस्यहरूको विश्वास कायम राख्दै पारदर्शिता, सुशासन र आर्थिक अनुशासनलाई प्राथमिकता दिनुपर्ने उनले बताए।

त्यसैगरी विशिष्ट अतिथि गोदावरी नगरपालिका सहकारी शाखा प्रमुख दिव्यराज जोशीले संगम बहुउद्देश्यीय सहकारी संस्थाले सञ्चालनको छोटो अवधिमै उल्लेखनीय प्रगति गर्दै आफ्नो कार्यक्षेत्रमा सशक्त उपस्थिति स्थापित गर्न सफल भएको बताए।
उनले संस्थाले सदस्यहरूलाई सहज तथा सुलभ रूपमा कर्जा लगानी गर्ने, साँवा तथा ब्याज असुलीलाई व्यवस्थित बनाउने कार्यसँगै किसान सदस्यहरूले उत्पादन गरेका कृषि उपजको प्रवर्द्धन तथा बजारीकरणमा समेत योगदान पुर्याउँदै आएको बताए । किसान सदस्यहरूको उत्पादनलाई उचित बजारसम्म पुर्याउन संस्थाले संगम खाद्य उद्योग ९मिल० सञ्चालन गर्नु प्रशंसनीय कार्य भएको उनको भनाइ थियो। सहकारी संस्थाहरूले बचत तथा ऋणको कारोबारमा मात्र सीमित नभई उत्पादन, रोजगारी सिर्जना, उद्यमशीलता र स्थानीय आर्थिक विकासमा समेत जोड दिनुपर्ने उनले बताए।
संस्थाले सदस्यहरूको सेवामा निरन्तर केन्द्रित रहँदै उनीहरूको आवश्यकता र अपेक्षाअनुसार सेवा प्रवाह गर्दै आएको जनाएको छ। संस्थाले साधारण सभाको अवसरमा उत्कृष्ट असल बचतकर्ता लगायत विभिन्न विधामा सदस्य तथा कर्मचारीलाई सम्मान समेत गरेको थियो।
अत्तरिया केन्द्रीय कार्यालय रहेको संस्थाले आफ्नो सेवा क्षेत्र विस्तार गर्ने क्रममा कैलालीको धनगढी तथा कञ्चनपुरको गुलरियामा सेवा केन्द्र स्थापना गरी सदस्यहरूलाई निरन्तर सेवा प्रदान गर्दै आएको छ।
संस्थाका कार्यकारी प्रमुख अम्मरबहादुर कुँवरले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष सुनिल विष्टले स्वागत मन्तव्य व्यक्त गरेका थिए।