धनगढीमा ग्रासरुट फुटबलको तेस्रो संस्करण सुरु, पाँच हजारलाई प्रशिक्षण दिइने

धनगढी  : धनगढी उपमहानगरपालिकाले सञ्चालन गर्दै आएको ग्रासरुट फुटबल विकास कार्यक्रमको तेस्रो संस्करण शनिबारदेखि सुरु भएको छ । यस वर्ष कार्यक्रममार्फत करिब पाँच हजार बालबालिका तथा किशोर–किशोरीलाई फुटबल प्रशिक्षण दिने लक्ष्य राखिएको छ ।

धनगढी रंगशालामा आयोजित कार्यक्रममा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले कार्यक्रमको उद्घाटन गरे । उद्घाटन गर्दै मुख्यमन्त्री भट्टले ग्रासरुट फुटबल कार्यक्रमले स्थानीयस्तरबाटै प्रतिभावान खेलाडी उत्पादनमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे । मुख्यमन्त्री भट्टले ग्रासरुट फुटबल कार्यक्रमले भविष्यमा प्रतिभावान खेलाडी उत्पादन गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे । उनले विश्व फुटबलका चर्चित खेलाडी लियोनल मेस्सी र किलियन एम्बाप्पेजस्ता खेलाडी उत्पादन गर्ने सपना बोकेर स्थानीयस्तरबाटै प्रयास सुरु हुनु सकारात्मक भएको बताए ।

खेल क्षेत्रको विकासका लागि सबै तहका सरकारले यस्ता कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो । धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले यस वर्ष करिब पाँच हजार बालबालिका तथा किशोर–किशोरीलाई फुटबल प्रशिक्षण दिने लक्ष्य रहेको बताए । धनगढीमा फुटबल र क्रिकेटप्रति युवापुस्ताको आकर्षण बढ्दै गएकाले त्यसलाई व्यवस्थित गर्दै नयाँ प्रतिभा पहिचान र विकास गर्न कार्यक्रम सञ्चालन गरिएको उनले बताए ।

उपप्रमुख कन्दकला कुमारी रानाले उपमहानगरपालिकाले शिक्षा र स्वास्थ्यसँगै खेलकुदलाई पनि प्राथमिकतामा राखेको बताइन् । स्थानीयस्तरमा नयाँ खेल प्रतिभाको खोजी र विकासका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिइएको उनको भनाइ थियो ।

धनगढी उपमहानगरपालिकाले कैलाली जिल्ला फुटबल संघसँगको सहकार्यमा विगत दुई वर्षदेखि ग्रासरुट फुटबल विकास कार्यक्रम सञ्चालन गर्दै आएको छ । यस वर्ष धनगढी रंगशालासहित १६ स्थानमा प्रशिक्षण सञ्चालन भइरहेको उपमहानगरपालिकाले जनाएको छ । विभिन्न वडामा खेलमैदानको व्यवस्थापन गरी बालबालिका तथा किशोर–किशोरीलाई नियमित प्रशिक्षणको अवसर उपलब्ध गराइएको छ ।

ग्रासरुट कार्यक्रमले बालबालिकालाई सानै उमेरदेखि फुटबलप्रति आकर्षित गर्नुका साथै अनुशासन, सामूहिक भावना र स्वस्थ जीवनशैली विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । खेलकुदमा उनीहरूको सहभागिता बढाएर लागुऔषध दुर्व्यसन तथा अन्य सामाजिक विकृतिबाट टाढा राख्नसमेत कार्यक्रमले मद्दत गर्ने उपमहानगरपालिकाको विश्वास छ ।

प्रशिक्षणमा सहभागी बालबालिकामध्ये कतिपयको सपना राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका फुटबल खेलाडी बन्ने छ । उनीहरूका लागि ग्रासरुट कार्यक्रम फुटबल सिक्ने अवसरसँगै आफ्नो सपना पूरा गर्ने यात्राको सुरुवात बनेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.