अत्तरिया : जिल्ला प्रहरी कार्यालय कैलालीबाट हालै सरुवा भएका प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र चन्दले आफ्नो १५ महिने कार्यकालको प्रगति विवरण सार्वजनिक गरेका छन्।
२०८२ भदौ १५ गते कैलालीको प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका चन्दले आइतबार पत्रकार सम्मेलन आयोजना गरी अपराध अनुसन्धान तथा नियन्त्रण, शान्ति सुरक्षा, फैसला कार्यान्वयन र नागरिक सेवा प्रवाहमा भएका कामको विवरण सार्वजनिक गरेका हुन्।
सार्वजनिक विवरणअनुसार चन्दको कार्यकालमा कैलालीमा विभिन्न प्रकृतिका २ हजार ६२२ मुद्दा दर्ता भएका छन्। तीमध्ये संगठित तथा आर्थिक अपराधका ४६५, ज्यानसम्बन्धी ३९८, आत्महत्यासम्बन्धी ३८७, सामाजिक अपराधका ३५०, महिला तथा बालबालिकासम्बन्धी २३१, सवारी ज्यानका १०३ र चोरीका ८९ मुद्दा रहेका छन्। अन्य प्रकृतिका ५९९ मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ।
यस अवधिमा प्रहरीले २ हजार ६५० प्रतिवादीलाई पक्राउ गरेको छ भने ३६७ जना अझै फरार रहेका छन्। सार्वजनिक चासोका १५१ अधुरा मुद्दामध्ये ५५ वटा फछ्र्यौट गरिएको विवरणमा उल्लेख छ।
फैसला कार्यान्वयनतर्फ प्रहरीले उल्लेख्य प्रगति गरेको जनाएको छ। यस अवधिमा ९५४ जना पक्राउ गरी २९० वर्ष २ महिना २२ दिन कैद तथा २ करोड ६० लाख ४ हजार ३२७ रुपैयाँ जरिवाना कार्यान्वयन गरिएको छ। यस्तै, जेनजी आन्दोलनका क्रममा फरार रहेका ४७० प्रतिवादीसमेत पक्राउ गरिएको प्रहरीले जनाएको छ।
लागूऔषध नियन्त्रणमा ८८९ जना पक्राउ
लागूऔषध नियन्त्रण अभियानअन्तर्गत कैलालीमा ५६३ मुद्दा दर्ता भएका छन्। ती घटनामा संलग्न रहेको आरोपमा ८५९ पुरुष र ३० महिलासहित ८८९ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेकाहरूबाट ४ हजार ७५४ ट्याबलेट, १ किलो १७१ ग्रामभन्दा बढी खैरो हेरोइन, २ किलो १८८ ग्रामभन्दा बढी गाँजा र ३२ किलो ५६८ ग्रामभन्दा बढी चरेस बरामद गरिएको छ।
यसैगरी, हराएका १ हजार २५१ जनामध्ये १ हजार १७५ जनालाई फेला पारिएको छ। घरेलु हिंसासम्बन्धी प्राप्त ६७६ उजुरीमध्ये ५७८ वटामा मिलापत्र गराइएको प्रहरीले जनाएको छ।
चर्चित हत्याकाण्डदेखि जघन्य अपराधसम्मको अनुसन्धान
एसपी चन्दले आफ्नो कार्यकालमा भएका चर्चित तथा गम्भीर अपराधका अनुसन्धानलाई पनि उपलब्धिका रूपमा प्रस्तुत गरेका छन्। उनका अनुसार प्राविधिक विश्लेषण, कल डिटेल, सीसीटीभी फुटेज र गोप्य सूचनाको प्रभावकारी प्रयोगमार्फत विभिन्न जघन्य अपराधको अनुसन्धान गरी संलग्नलाई कानुनी दायरामा ल्याइएको छ।
२०८२ असोज २४ गते घोडाघोडी नगरपालिका–८, जडैमा केशरसिंह बुढाको हँसिया प्रहार गरी घाँटी काटेर हत्या गरिएको घटनामा प्रहरीले तत्कालै दुई जनालाई नियन्त्रणमा लिएको थियो। थप अनुसन्धानका क्रममा अन्य सात जनाको संलग्नता खुलेपछि घटनामा संलग्न नौ जनाविरुद्ध अदालतमा मुद्दा दायर गरिएको थियो।
त्यस्तै, २०८२ फागुन २३ गते धनगढीकी सरस्वती अवस्थीको हत्या घटनामा संलग्न रहेको आरोपमा उनका श्रीमान् डम्बरराज जोशीलाई पक्राउ गरिएको थियो। सीसीटीभी फुटेजको विश्लेषण तथा बाँके प्रहरीसँगको समन्वयमा उनलाई पक्राउ गरी पुर्पक्षका लागि कारागार पठाइएको प्रहरीले जनाएको छ।
२०८३ साउन २१ गते लम्कीचुहा नगरपालिका–४ का दीपक सुनारको हत्या प्रकरणमा पनि प्रहरीले कल डिटेल र अन्य प्रमाणको विश्लेषणका आधारमा अनुसन्धान अघि बढाएको थियो। उक्त घटनामा मृतककी श्रीमती यमुना सुनार र दुर्योधन सुवर्णकारसहित पाँच जनालाई पक्राउ गरी पुर्पक्षका लागि कारागार पठाइएको विवरणमा उल्लेख छ।
यसैगरी, २०८३ असार १२ गते धनगढी उपमहानगरपालिका–१७ स्थित कालिका सामुदायिक वनमा १० वर्षीय बालक तनुज चौधरी मृत फेला परेको घटनामा संलग्न रहेको आरोपमा खगेन्द्र भनिने खेमराज कठायतलाई पक्राउ गरिएको छ। उनीमाथि ज्यानसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
राजस्व संकलनमा ११ करोडभन्दा बढी योगदान
अवैध भन्सार कारोबार तथा राजस्व छली नियन्त्रणका क्रममा प्रहरीले ६२ जनालाई पक्राउ गरेको छ। उनीहरूसँग सम्बन्धित कारबाहीबाट ११ करोड २ लाख ९८ हजार ६०४ रुपैयाँ बराबरको राजस्व संकलन भएको विवरण सार्वजनिक गरिएको छ।
सवारी नियम उल्लंघन गर्ने २२ हजार ७३२ सवारीसाधनलाई कारबाही गर्दा १ करोड ८७ लाख ७५ हजार ५०० रुपैयाँ राजस्व संकलन भएको छ।
यद्यपि, सवारी दुर्घटनाको तथ्यांक भने चुनौतीपूर्ण देखिएको छ। चन्दको कार्यकालमा जिल्लाभर १ हजार २३१ सवारी दुर्घटना भएका छन्। ती दुर्घटनामा ११४ जनाले ज्यान गुमाएका छन् भने १ हजार ७५२ जना घाइते भएका छन्।