
देउवाले गरे रामचन्द्र पौडेल र विमलेन्द्र निधिसहित १० जनालाई केन्द्रीय सदस्यमा मनोनयन

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४ औं महाधिवेशनबाट केन्द्रीय सदस्य बन्न नपाएका १० जनालाई कांग्रेसको केन्द्रीय सदस्यमा मनोनयन गरेका छन् । देउवाले रामचन्द्र पौडेल, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, कृष्णप्रसाद सिटौला, डा। प्रकाशशरण महत, डा. नारायणबहादुर खड्का, उमा रेग्मी, सुजाता कोइराला र मीनबहादुर विश्वकर्मालाई केन्द्रीय सदस्यमा मनोनयन गरेको नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए ।
रामचन्द्र पौडेल महाधिवेशनमा कुनै पनि पदमा उम्मेदवार बनेका थिएनन् भने प्रकाशमान सिंह र विमलेन्द्र निधि सभापतिका उम्मेदवार थिए । उनीहरू पहिलो चरणमै पराजित भएका थिए । त्यसैगरी, विजय गच्छदार र सुजाता कोइराला उपसभापतिमा पराजित भएका थिए भने डा. प्रकाशशरण महत महामन्त्रीमा पराजित भएका थिए ।
नेपाली कांग्रेसको विधानको धारा २१ को उपधारा (१०) बमोजिम उनीहरू पार्टी सभापति देउवाले केन्द्रीय सदस्यमा मनोनयन गरेको पौडेलले बताए ।
