अत्तरिया : प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिमको राजधानी धनगढीमा फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदानसहित खेलग्राम बनाउने निर्णय गरेको छ । कांग्रेस नेतृ डा . आरजु राणा देउवाले धनगढीमा उक्त मैदान र खेलग्राम बनाउने पहल गरेकी थिइन् ।
उनकै पहलमा गत माघ १० गतको मन्त्रिपरिषद बैठकको निर्णयबाट धनगढी उपमहानगरपालिका वडा नम्वर ३ मा रहेको ३९ हजार ९ सय १० वर्गमिटर जग्गा क्रिकेट मैदान र खेलग्राम बनाउनेगरी हस्तान्त्रण गर्ने निर्णय गरेको छ ।
सरकारले पूर्वाधार निर्माणको लागि फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम विकास समिति गठन गर्ने निर्णय पनि गरेको छ । सरकारको यो निर्णयसँगै धनगढीमा अन्तराष्ट्रिय क्रिकेट मैदान तथा खेल मैदान बन्ने भएको छ । यो नेपालकै सबैभन्दा ठूलो क्रिकेट मैदान हुने भएकोछ । यसमा अन्तराष्ट्रिय क्रिकेट खेलहरु गराउन सक्नेगरी भौतिक पूर्वाधार तयार गरिने छ ।