
हिउँदे वर्षाले तरकारी खेतीमा क्षति, आकाशीयो तरकारीको मूल्य

कञ्चनपुर : हिउँदे वर्षाले तरकारी खेतीमा क्षति पुर्याएपछि तरकारीको मूल्य अकासिएको छ । दुई साताको अवधिमा तरकारीको मूल्य दोब्बरले महँगिएको हो । महेन्द्रनगस्थित सब्जिमण्डीमा तरकारी किन्न आएका उपभोक्ताले केही दिनकै बीचमा सबैजसो तरकारीको मूल्य बढेको बताए ।
अहिले काउलीको मूल्य प्रतिकिलो १ सय, टमाटरको ८०, प्याजको ४० रुपैयाँ पुगेको छ । जबकि अहिले काउली र टमाटरकै सिजन हो । यसैगरी, हरियो खुर्सानीको १ सय, भेडे खुर्सानी १२० र आलुको मूल्य प्रतिकिलो ४० रुपैंया पुगेको छ । आलुबाहेक सबै तरकारीको मूल्य निकै बढेको व्यवसायीहरू पनि बताउँछन् ।
‘लगातारको वर्षाले काउलीलगायत तरकारी बिग्रेको छ, यही भएर अहिले पाउनै गाह्रो भएको छ,’ सब्जीमण्डीका तरकारी व्यवसायी वीरेन्द्रराज जोशीले भने, ‘एक हप्तामै मूल्य दोब्बर भएको छ ।’
उनका अनुसार अहिले महेन्द्रनगर बजारमा बन्दा, काउली, खुर्सानी, टमाटरलगायत तरकरी स्थानीय क्षेत्रबाटै उत्पादन भई आइरहेको छ । तर सिजनमै वर्षाले क्षति पुगेपछि किसानसमेत चिन्तामा छन् । यसअघि कात्तिक पहिलो साता पनि वर्षाले हिउँदे तरकारीमा निकै क्षति पुगेको थियो । अहिले सिजनको पहिलो लट उत्पादन सकिएर दोस्रो लटको उत्पादन बजारमा आइनसकेको अवस्थामा मुल्य एकाएक बढेको सब्जीमण्डी व्यवसायी संघका अध्यक्ष विशाल सोनारले बताए ।
