
दार्चुलामा सेताम्मे डाँडा : हिउँले तान्दै पर्यटक दल्लेख बन्यो पर्यटकीय क्षेत्र

ललित सामन्त
दार्चुला, २७ माघ : दार्चुलामा गत बिहीबार रातिदेखि परेको हिमपातका कारण अहिले यहाँका डाँडाकाँडा सेताम्मे भएका छन् । कुनै बेला सुक्खा देखिने यहाँका डाँडाकाँडाहरु पछिल्लो समय हिमपात भएपछि सेताम्मे भएका हुन । तिनै सेताम्मे डाँडाकाँडा अहिले आन्तरिक पर्यटकलाई आकर्षित बनाएको छ । हिउँ खेल्नकै लागि भएपनि यहाँका डाँडकाँडामा आन्तरिक पर्यटकको घुइँचो लाग्न पनि थालेको छ । हिमपात भएका यहाँका डाँडाकाँडाहरुमा रमाउन तथा अवलोकन गर्नका लागि दिनहुँ सयौँ पर्यटक आउन थालेका छन् । यहाँको नौगाड गाउँपालिका दल्लेखमा सबैभन्दा बढी हिमपात भएको छ ।
हिमपातपछि अहिले सरकारी कर्मचारी देखि आन्तरिक पर्यटक त्यहाँ दिनहुँ हिउँ खेल्नमा रमाउने गरेका छन् । दल्लेखमा दुई वर्षयताकै ठूलो हिउँ परेकाले पनि यहाँ हिउँ खेल्नकै लागि पर्यटकको घुइँचो बढेको स्थानीयवासी बताउँछन् । जिल्लामा कोरोनाको जोखिम कायमै रहेको र सार्वजनिक ठाउँमा बढी भिडभाड नगर्न स्थानीय प्रशासनले सबैमा आग्रह गरे पनि हिउँ खेल्नका लागि दैनिक सयौँ नागरिक दल्लेख पुग्ने गरेको स्थानीयवासी गायत्री रावलले बताए । उनले भने, “हिउँले डाँडाकाँडा र रुख सेताम्मे भएका छन्, कोरोनाको बेवास्ता गर्दै आन्तरिक पर्यटक दैनिक हिउँ खेल्न आउने गरेका छन् ।” हिउँ खेल्नका लागि दल्लेखमा दिनहुँ आन्तरिक पर्यटक भित्रिन थालेपछि यहाँको व्यापार व्यवसाय पनि फस्टाएको उनको भनाइ छ । हिउँ खेल्न आउने आन्तरिक पर्यटकका कारण यहाँको चहलपहल निकै बढेको यस क्षेत्रका स्थानीयहरुले बताएका छन । हिउँमा टिकटक बनाउनेदेखि दिनभरि चिप्लेटी खेल्ने पर्यटकका कारण अहिले दल्लेखमा चहलपहल ह्वातै बढेको छ ।
लामो समयपछि वर्षापछिकै बाक्लो हिमपात यो वर्ष भएको र यातायातका साधन पनि पुग्ने भएकाले अहिले उक्त क्षेत्रमा हिउँ खेल्न तथा रमाइलो गर्न आउनेको सङ्ख्या बढ्दै गएको नौगाड गाउँपालिका अध्यक्ष प्रेम सिह धामीले बताए । उनले भने, “कोरोना भाइरस सङ्क्रमणका कारण आम नागरिक घर बाहिर निस्किन पाएका थिएनन्, त्यसैमा यो वर्ष बाक्लो हिमपात भएकाले पनि दल्लेखमा हिउँ खेल्न जाने आन्तरिक पर्यटक बढेका हुन् ।” दल्लेखबाट छिमेकी गाउँपालिका अपि हिमाल गाउँपालिकाका पर्यटकीयस्थलहरुको अवलोकन गर्न सकिने भएकाले दल्लेखमा आन्तरिक तथा बाह्यि पर्यटक भित्रिन थालेको अपि नाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाका सुचना अधिकारी सन्त बहादुर मगरले बताए । अहिले पर्यटकलाई लक्षित गरि नौगाड गाउँपालिकाले छिपुलथानमा डाइभरसिटी पार्कलगायतका संरचना बनाउन थालेको छ ।
