दार्चुलामा काँग्रेसको चुनावी सरगर्मी बढ्यो, कार्यकर्ता भेटघाट देखि छलफलमा नेताहरु
दार्चुला : सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेसँगै दार्चुलामा पनि चुनावी सरगर्मी बढ्न थालेको छ। सोमवार बसेको मन्त्रिपरिषद् बैठकले वैशाख ३० गते एकै चरणमा देशैभर स्थानीय तहको चुनाव गर्ने घोषणा गरेसँगै विभिन्न राजनीतिक दल निर्वाचनको तयारीमा लाग्न थालेका छन।
यसैविचमा नेपाली कांग्रेस दार्चुलाले पनि फागुन ७ गते देखि जिल्लाका सबै स्थानीय तहमा कार्यकर्ता भेटघाट तथा स्थानीय तहको छलफल गर्नका लागि कार्यक्रमहरु संञ्चालन गर्ने जनाएको छ। स्थानीय तह निर्वाचनको मिति घोषणा भएसँगै नेपाली काँग्रेस दार्चुलाले पनि चुनाव केन्द्रीत भएको हो।
शनिबार पार्टी कार्यालयमा आयोजना गरिएको पत्रकार सम्मेलन मार्फत जिल्ला सभापति ललित सिह बोहराले फागनु ७ गते शनिबार देखि जिल्लाका नौवटै स्थानीय तहमा चुनावी कार्यक्रमहरु गर्ने जनारकारी दिएका छन। उनका अनुसार फागुन ७ गते पहिलो चुनावी कार्यक्रम जिल्लाको मालिकार्जुन गाउँपालिकाबाट सुरु गर्ने बताएका छन।
जिल्लाको मालिकार्जुन गाउँपालिकामा फागुन ७ गते लेकम गाउँपालिकामा फागुन ९ गते शैल्यशिखर नगरपालिकामा फागुन ११ गते मार्मा गाउँपालिकामा फागुन १२ गते अपि हिमाल गाउँपालिकामा फागुन १४ गते व्यासँ गाउँपालिकामा १८ गते महाकाली नगरपालिकामा २० गते दुहुँ गाउँपालिकामा २१ गते तथा नौगाड गाउँपालिकामा फागुन २४ गते चुनावी कार्यक्रम गर्ने बताएका छन।
पत्रकार सम्मेलन मार्फत शुक्रवार र शनिवार बसेको काँग्रेस जिल्ला कार्य समितिको दोस्रो बैठकले निर्वाचनको पूर्व तयारीका लागि विभिन्न समिति पनि गठन गरेको पार्टी सभापति ललित सिंह बोहराले जानकारी दिएका छन। बैठकले कार्य सम्पादन समिति, अनुशासन समिति लगायत अन्य समितिसमेत गठन गरेको जनाएको छ।
जिल्ला सभापति बोहराको नेतृत्वमा १९ सदस्यीय कार्य सम्पादन समिति गठन गरिएको छ। बैठकले नेपाली काग्रेस दार्चुलाको कोषाध्यक्षमा हंसराज भट्टलाई मनोनयन गरेको छ। उनकै संयोजकत्वमा ३ सदस्यीय अर्थ समिति पनि गठन गरिएको छ।
यस्तै शुभेच्छुक संघसंस्था उद्योग तथा वाणिज्य विभाग संयोजक महादेव बडू, स्थानीय तह गैर सरकारी संघसंस्था तथा सामाजिक विभाग संयोजक ललित सिंह ठगुन्ना, संगठन विभाग संयोजक पुलेन्द्र बहादुर कार्की, सूचना संचार तथा प्रचार प्रसार विभाग, पार्टी प्रवत्ता माधव राज भट्ट, कृषि तथा भूमी सुधार विभाग संयोजकमा भान सिंह धामी, युवा तथा खेलकुद विभाग संयोजक श्याम सिनाल, महिला तथा सामाजिक सुरक्षा विभाग संयोजक राजु अवस्थी, भातृ संघसंस्था समन्व विभाग संयोजक दान सिह तिंकरीलाई जिम्मेवारी दिइएको पत्रकार सम्मेलन मार्फत जानकारी दिएका छन।
आसन्न स्थानीय तहको चुनावलाई लक्षित गरी नेपाली काँग्रेस जिल्ला कार्य समितिले पालिका भेला आयोजना गर्ने निर्णय गरेको छ। यसैबीच नेपाली काँग्रेस दार्चुलाले पार्टीमा छलफल र परामर्शविना आफूखुशी उम्मेदवारी घोषणा नगर्न सूचित गरेको छ।
स्थानीय तह निर्वाचन घोषणा भएपछि पार्टीका कतिपय नेता–कार्यकर्ताले सामाजिक सञ्जाल, चिया पसल र चोकहरुमा बसेर उम्मेदवारी घोषणा गर्न थालेपछि नेपाली कांग्रेसले विज्ञप्ती नै जारी गरी सचेत गराएको हो। सभापति ललित सिंह बोहराद्धारा जारी विज्ञप्तीमा भनिएको छ, ‘लोकतान्त्रिक पद्धतिमा आफ्नो चाहनाअनुसार उम्मेदवारी प्रस्तुत गर्नु अस्वाभाविक नभए पनि पार्टीको विधि र नियमलाई सबै नेता तथा कार्यकर्ताहरूले पालना गर्दा स्वयं र संस्थाका लागि लाभदायक हुनेछ।
पार्टी हितविपरीत काँग्रेस नेता उमेश सिंह खत्रीले सामाजिक सन्जालमा विभिन्न टिकाटिप्पणी गरेको भन्दै काँग्रेसले स्पष्टीकरण सोध्ने भएको छ। ७ दिनभित्र उनलाई स्पष्टिकरण दिन र चित्त बुझ्दो जवाफ नदिए विधान अनुसार कारवाही गरिने बताइएको छ।