संवैधानिक निकास खोज्नका लागि प्रधानन्यायाधीशविरुद्ध महाअभियोग : कानुनमन्त्री बडू
काठमाण्डौँ : कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूले संवैधानिक निकास खोज्नका लागि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोग दर्ता गरिएको बताएका छन् । जबरामा न्यायालयको गरिमा जोगाउने संकेत नदेखाएका कारण पनि महाअभियोग दर्ता गर्नु परेको मन्त्री बडूले बताए ।
महाअभियोग प्रस्ताव दर्तापछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले भने, ‘गतिरोधमा न्यायपालिका रह्यो भने न्यायापालिकाको आवश्यकता र गरिमामाथि प्रश्न उठ्न सक्ने देखियो । त्यसकारणले प्रतिनिधिसभाका सांसदहरूले संवैधानिक निकास खोज्ने प्रयत्न गर्नुभयो ।’
मन्त्री बडूले न्यायालयको गरिमा जोगाउनको लागि संवैधानिक प्रक्रियाबाट प्रधानन्यायाधीश हटाउने बाटो अपनाइएको पनि बताए । ‘हामीले यो कुरा पनि सुनिरहेका थियौं । सम्मानीय प्रधानन्यायाधीश ज्यूले पनि म संवैधानिक बाटोबाट आएको व्यक्तिलाई संवैधानिक बाटोबाट निकास चाहन्छु भन्ने अभिव्यक्तिहरू थिए’, उनले भने ।