
कैलाली काँग्रेसको अधिवेशन : चुनावी सरगर्मी बढ्यो, मतदाता रिझाउँदै आकांक्षी उम्मेद्वार

अत्तरिया : नेपाली काँग्रेस, कैलालीको जिल्ला अधिवेशन तोकीएसंगै चुनावी सरगर्मीमा बढेको छ । पटक–पटक स्थगित भएको जिल्ला अधिवेशन यहि फागुन १३ गते हुँदैछ ।
काँग्रेस केन्द्रिय कार्यालयले अधिवेशन नभएका १६ जिल्लामा १३ गतेको मिति तय गरेको हो । अधिवेशनको मिति तय भएपछि जिल्ला सभापति सहित पदाधिकारी र सदस्य पदका आकांक्षीहरूले आआफ्नो उम्मेदवारी घोषणा गर्ने क्रम जारी छ । आकांक्षीहरूले प्रायः सामाजिक सञ्जालमार्फत आफ्नो उम्मेद्वारी घोषणा गर्दै मत मागिरहेका छन् । आकांक्षी उम्मेद्वारहरु आफ्नो पक्षमा मत पार्नका लागि विभिन्न माध्यामबाट मतदाताहरु रिझाउँदै व्यस्त देखिएका छन् ।
त्यस्तै आकांक्षीहरूले भेला लगायतका कार्यक्रम पनि आयोजना गरिरहेका छन । कैलालीमा संस्थापन तथा संस्थापन बाहेकको पक्षबीच धेरैजसो वडा तहदेखि नै प्रतिस्पर्धा हुँदै आएको थियो ।
जिल्ला सभापतिका अहिलेका कार्यवाहक सभापति प्रकाशबहादुर वम, पूर्व उपसभापति नारायणदत्त भट्ट, गणेश देउवा, भीम बडुवाल, खेमराज चौधरी लगायतले दाबी यस अघि नै गरेका हुन् । कैलालीको अधिवेशन नजिकै स्थानीय तहको निर्वाचन तोकेको हुँदा फरक ढंगको हुने अनुमान गरिएको छ ।
सभापतिका आकांक्षी वमले मंसिरको पहिलो साता नै धनगढीमा पत्रकार सम्मेलनमार्फत आफ्नो उम्मेदवारी घोषणा गरेका थिए । उनले पुनः उम्मेद्वारी घोषणा गर्न आज (मंगलबार) धनगढीमा पत्रकार सम्मेलन राखेका छन् । सभापतिका अर्का आकांक्षी भट्टले तीनचार वर्षअघि देखि नै आफूलाई सभापतिको उम्मेदवारका रुपमा प्रस्तुत गर्दै आएका थिए । अर्को सभापतिका आकांक्षी बडुवालले पनि धनगढीमा पत्रकार सम्मेलन गरी उम्मेद्वारी घोषणा गरेका थिए । उनले जिल्ला युवा नेतृत्व ल्याउनु पर्ने अभियानमा आफू लागेको बताए । त्यस्तै, जिल्ला सचिवमा अहिलेका कार्यसमिति सदस्य नृपबहादुर सुनार, केशव मिश्र, अमृत बिसी लगायतले आआफ्नो दाबी प्रस्तुत गरेका छन् ।
जिल्ला उपाध्यक्षका लागि अहिले सम्म लोकराज पाण्डे ‘आगो’, प्रकाश देउवा र लक्ष्मण शाही अगाडि सरेका छन् ।
जिल्ला उपाध्यक्षका बलियो दावेदार मानिएका लोकराज पाण्डे ‘आगो’ले प्रचारप्रचार तिब्र पारेका छन् । उनले सामाजिक सञ्जाल लगायत विभिन्न सञ्चार माध्याममा प्रचारप्रचार तिब्र पारेका छन् ।
जिल्ला अधिवेशन प्रचारप्रसार समिति संयोजक समेत रहेका सचिव पदका आकांक्षी सुनारले अधिवेशनको तयारी तीब्र बनाइएको बताए । उनले भने– अहिले हामी वडा तथा पालिका स्तरीय बैठक, भेलामा जुटेका छौं । यी बैठकमार्फत जिल्ला अधिवेशनको तयारी भइरहेको छ ।
जिल्ला अधिवेशनका यसअघि नै निवर्तमान जिल्ला सभापति नरनारायण शाहको अध्यक्षतामा एक हजार पाँच सय एक सदस्यीय जिल्ला अधिवेशन मूल व्यवस्थापन समिति गठन गरिएको थियो । शाह प्रदेशको महामन्त्रीमा निर्वाचित भइसकेका छन् । एक सय २६ वडा रहेको कैलालीमा जिल्ला अधिवेशनका लागि २५ सय बढी प्रतिनिधिहरू रहेका छन् ।
क्षेत्र नं ४ वाट उप–सभापतिमा २ जनाको उम्मेदवारी
कैलाली क्षेत्र नं. ४ वाट जिल्लाको उप सभापतिका लागि २ जनाले आफ्नो उम्मेद्वारी घोषणा गरेका छन् । युवा नेताले यस अघि तोकिएको मितिमा नै आफ्नो उम्मेद्वारी घोषणा गरेका थिए ।
विद्यार्थीकाल देखि नै राजनीतिमा संक्रिय रहेका युवा नेता लोकराज पाण्डे ‘आगो’ र अर्का युवा नेता प्रकाश देउवाले १४ औँ महादिवेशन अन्र्तगत यही फागुन १३ गते हुन गैरहेको जिल्ला अधिवेशनमा उपसभापति पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।
नेवि संघको विभिन्न नेतृत्व सम्हालेका युवा नेता आगो पूर्व क्षेत्रिय सचिव हुन् भने अर्का युवा नेता देउवा महादिवेशन प्रतिनिधि हुन् । युवाहरुको नेतृत्व गर्दै कांग्रेसलाई जिल्लामा सुदृढ र बलियो बनाउनका लागि आफूहरुको उम्मेदवारी रहेको दुवै नेताहरुले बताएका छन् ।
अधिवेशनको मिति नजिकिदै गएकाले अहिले आफू जिल्ला दौडाहामा रहेको उपसभापतिका उम्मेद्वार लोकराज पाण्डे आगोले बताए । उनले जिल्लामा सबै नेता तथा कार्यकर्ताहरुको भेटमा आफ्नो जित निश्चित जस्तै रहेको बताए ।
आगो नामले परिचित उनलाई सुदूरपश्चिमभर नचिन्ने कामै मात्र होलान् । उनी सुदूरपश्चिम प्रदेशमा कुनै पनि मुद्धाका बिषयमा आन्दोलन, नाराबाजी, जुलुस निकाल्नुपर्दा अंग्रपङ्तीमा रहेर खटिनेमा एक हुन् । उनले यस अघिको पार्टीको अधिबेशनमा पनि बिभिन्न पदहरुमा आफ्नो उम्मेदवारी दिएर चुनाब लडेका व्यक्ति हुन् । यस्तै अर्का युवा नेता देउवाले कैलाली जिल्ला ठूलो जिल्ला भएकाले सबैको साथ सहयोग पाए मात्रै जित हुने भएकाले सबैलाई सहयोग गरिदिन आग्रह गरे ।
उनले आफूले जिल्लाको नेतृत्वमा पुग्ने अवसर पाएमा कैलाली जिल्लालाई कांग्रेसमय बनाउन र अगामी दिनहरुमा नजिकिदै गरेको स्थानीय, प्रदेश र संघ गरि तिनै तहको निर्वाचनमा जिल्लाका सबै ठाउँमा काँग्रेसलाई बहुमतका साथ विजयी गराउन लाग्ने बताए ।
