अत्तरिया : कोरोना संक्रमणका कारण स्थगित भएको अत्तरियामा लाग्ने सुदूरपश्चिम प्रादेशिक महोत्सव हुने भएको छ । अत्तरिया उद्योग वाणिज्य संघका अनुसार यहि फागुन १३ देखि २५ सम्म महोत्सव सञ्चालन हुने भएको हो ।
बिहिबार संघको कार्यसमिति बैठकले महोत्सव आयोजना गर्ने निर्णय गरेको हो । यसअघि पौष महिनामा गर्ने भनिएको महोत्सव कोरोना महामारीका कारण स्थगित गरिएको थियो । अत्तरिया उद्योग वाणिज्य संघले पुस २७ गते देखि माघ ९ गते सम्म संचालन गर्ने भनेको महोत्सव पुस २६ गते स्थगित गरिएको हो । महोत्सवको तयारी अन्तिम चरणमा पुगेको बेला सरकारले मेला महोत्सव गर्न बन्द गरेपछि स्थगित भएको थियो ।