Agni Offset Press

दुई महिनादेखि सुदूरपश्चिम विश्वविद्यालयमा लगाइएको ताला अझै खुलेन

Aarati simant

अत्तरिया : सुदूरपश्चिम विश्वविद्यालयमा लगाइएको ताला दुई महिनाभन्दा बढी समयदेखि नखुलेपछि प्रशासनिक काम प्रभावित बन्न थालेका छन् ।

विश्वविद्यालयमा नियुक्त गरिएका डिन, सहायक डिन, निर्देशकलगायतका पाँच पदमा राजनीतिक भागबन्डा नमिलेपछि तालाबन्दी गरिएको हो । विश्वविद्यालयमा डिन र सहायक डिनलगायत पाँचजना मंसिर अन्तिम साता नियुक्त भएका थिए । कांग्रेस, माओवादी र एकीकृत समाजवादी पार्टी निकटका मात्रै रहेको तर एमाले निकट कोही नपरेको भन्दै अनेरास्ववियुले ७ पुसमा ताला लगाएको थियो ।

अनेरास्ववियुले सबै नियुक्ति अवैधानिक रहेकाले तत्काल नियुक्ति बदर गर्नुपर्ने माग अघि सारेर तालाबन्दी गरेको हो । तर अहिले अन्य राजनीतिक दल निकट विद्यार्थी संगठनले पनि आ(आफ्ना माग अघि सार्दै विश्वविद्यालयमा तालामाथि ताला लगाएका हुन् । विश्वविद्यालयमा लगाइएको ताला नखुलेपछि प्रशासनिक कामकाजमा कठिनाइ भएको विश्वविद्यालयमा उपकुलपति अम्मराज जोशीले बताए ।

जोशीले विश्वविद्यालयलाई राजनीति गर्ने अखडा बनाउन नहुनेमा जोड दिए । ‘सबैको अथक प्रयासका कारण सुदूरपश्चिमका नागरिकले विश्वविद्यालय पाएका छन्,’ उपकुलपति जोशीले भने, ‘यसलाई राम्रो बनाउने दायित्व पनि हाम्रै हो, तर यसरी तालाबन्दी गर्दा नराम्रो म्यासेज गइरहेको छ ।’

उनले आन्दोलतरत विद्यार्थी संगठनसँग पटकपटक वार्ता भए पनि माग संख्या थप गर्दै विवादलाई लम्ब्याउने काम गर्ने गरिएको जानकारी दिए । प्राध्यापक नियुक्ति प्रक्रिया बदर हुनुपर्ने, बढाइएको शुल्क फिर्ता हुनुपर्नेलगायतमा माग राखेर अनेरास्ववियु, नेविसंघ, अनेरास्ववियु क्रान्तिकारी र नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियुका विद्यार्थीहरूले दुई महिनादेखि विश्वविद्यालयको मूलगेट र उपकुलपति तथा रजिस्ट्रारको कार्यकक्षमा ताला लगाएका छन् ।

उनीहरूले विश्वविद्यालय निर्देशकदेखि सहायक डिन र परिषद् सदस्य नियुक्ति अवैध भएकाले तत्काल खारेज गर्नुपर्नेलगायत विभिन्न माग अघि सारेका छन् ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.