पार्टीले भीम रावललाई स्पष्टीकरण सोध्छ : नेता बस्नेत
धनगढी : नेकपा एमालेका नेता, पूर्व मन्त्री तथा राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय इन्चार्ज महेश बस्नेतले भिम रावललाई स्पष्टिकरण सोध्ने बताएका छन् । ‘क. भीम रालले पनि पार्टी पद्धति र दलीय व्यवस्थालाई स्वीकार गर्न सक्नुभएको छैन । व्यक्ति हिरो बन्ने र व्यक्तिको अहमता अनेक माध्यमबाट प्रकट गर्ने उहाँको त्यो शैलीलाई उहाँले फेरी प्रकट गर्नुभएको छ । मलाई लाग्छ पार्टीले सभामुख ज्यु सँग पनि यसको बारेमा एक्सन लिने छ र भीम रावलसँग पनि पार्टीले स्पष्टिकरण सोध्छ भन्ने लाग्छ’ धनगढीमा भएको पत्रकार सम्मेलनमा उनले भने । ‘पार्टीले कारबाही गरेका सांसदहरूलाई सूचना ननिकाल्ने देखि लिएर संसद् रोष्टम घेरिराखेको अवस्थामा नेता भीम रावललाई संसदमा जुन ढङ्गले बोल्न भएका छन् ।’
नेता बस्नेतले बहुदलीय व्यवस्थामा संसद् भित्र बोल्न सांसदहरूले शून्य समय बाहेक दलले समय माग नगरी बोल्न नपाउने स्पष्ट पार्दै सभामुख सापकोटाले आफूलाई गुरिल्ला सभामुख भएको पुष्टि गरेको आरोप लगाए । ‘बहुदलीय व्यवस्थामा संसद् भित्र बोल्ने कुरामा सांसदहरूले शून्य समयमा दलको स्वीकृति बिना बोल्न पाउँछन् । अन्य अवस्थामा सांसदहरूले दलको स्वीकृति बिना समय माग नगरी बोल्न पाउँदैनन् ।’, बस्नेतले भने । ‘सभामुख ज्युले शून्य समय नचलिरहेको अवस्थामा र एमालेले संसद् घेरिरहेको अवस्थामा जुन ढङ्गले भीम रावल कमरेडलाई बोल्न दिनुभएको छ । त्यो चाहिँ सभामुख ज्युले संसदीय पद्धति र बहुदलीय व्यवस्था भन्दा फरक ढङ्गले जानुभएको र उहाँ एउटा अधिनायकवादी राज्य सत्तालाई स्थापना गर्न लागेको गुरिल्ला सभामुख हो भन्ने कुरालाई फेरी पुस्ट्याइँ गर्नुभएको छ ।’
नेता बस्नेतले सभामुख सापकोटा अधिनायकवादी राज्यसंस्था स्थापना गर्नुपर्छ भन्ने चाल–चलनबाट आएको आरोप लगाउँदै उनलाई अर्जुन लामा लगायतका व्यक्तिहरूको हत्या अभियोग समेत लागेको बताए । ‘सभामुख ज्यु चाहिँ अधिनायकवादी राज्य संस्था स्थापना गर्नुपर्छ भन्ने मोभमेन्टबाट आएको र अर्जुन लामा लगायतका अन्य धेरै हत्याका अभियोगहरू लगेको सन्दर्भमा उहाँले बहुदलीय व्यवस्था र दलीय सिस्टमलाई आत्मसाथ गर्न सक्नुभएको छैन ।’ उनले पत्रकार सम्मेलनमा एमालेले एमसिसीका बारेमा अझै धारणा बनाई नसकेको बताए ।