विश्व कप खेल्ने नेपालको सपना अधुरो, यूएईसँग ६८ रनले पराजित
काठमाण्डौ : नेपालको आईसीसी टी–२० विश्व कप क्रिकेट खेल्ने सपना अधुरो रहेको छ । मङ्गलवार भएको आईसीसी टी–२० विश्व कप क्रिकेटको ग्लोबल छनोटको सेमिफाइनलमा संयुक्त अरब इमिरेट्स (यूएई) सँग ६८ रनले हारेसँगै नेपालको सपना अपूरै रहेको हो ।
अल अमिरात क्रिकेट मैदानमा ओमानले दिएको एक सय ७६ रनको लक्ष्य पछ्याएको नेपाल १८ ओभर ४ बलमा एक सय सात रन मात्र बनाउन सक्यो । नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ३८ र ज्ञानेन्द्र मल्लले २० रन बनाएपछि अन्य खेलाडीले राम्रो अङ्कमा रन बनाउन सकेनन् ।
बलिङतर्फ यूएईका अहमद राजाले पाँच विकेट लिए । उनी चार ओभरमा १९ रन दिँदै पाँच विकेट लिन सफल भए । यस्तै जुनाइद सिद्दिकीले तीन विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ७५ रन बनायो । यूएईका लागि मुहम्मद वसीमले ७० र विर्त्या अरविन्दले ४६ रन बनाए । बलिङतर्फ नेपालका लागि जितेन्द्र मुखिया र अविनाश बोहराले तीन–तीन विकेट लिए । यस्तै कप्तान सन्दीप लामिछानेले एक विकेट लिए ।
आजको सेमिफाइनलमा यूएईलाई हराउन सके नेपालले आउँदो अक्टोबररनोभेम्बरमा अस्ट्रेलियामा हुने टी–२० विश्व कप क्रिकेट खेल्न पाउने थियो । । नेपाल समूह ‘बी’ को विजेता र यूएई समूह ‘ए’ को उपविजेता बन्दै सेमिफाइनलमा पुगेका थिए । यसअघि सन् २०१४ मा नेपालले पहिलो पटक टी–२० विश्व कप क्रिकेट खेलेको थियो । त्यसयता खेलेको चार वटा टी–२० विश्व कप छनोटमा नेपाल असफल हुँदै आएको छ ।