Agni Offset Press

एलपिएल प्रतियोगिता : शारदा सरस्वती र स्टेपिङ विजयी

Aarati simant

धनगढी, ११ फागुन : धनगढीमा जारी लिटल फ्लावर प्रिमियर लिग–६ (एलपिएल) प्रतियोगिता अन्तरगत दुई खेलमा शारदा सरस्वती र स्टेपिङ स्टोन विजयी भएका छन् । जितसँगै शारदाले सेमिफाइनल प्रवेशको सम्भावना कायमै राखेको छ । सैनिक समूह चरणका सबै खेल हार्दै प्रतियोगिताबाट बाहिरिएको छ । स्टेपिङको पनि यो सान्त्वना जित हो भने सत्यवती सेमिफाइनल प्रवेश गरिसकेको छ ।
पहिलो खेलमा कञ्चनपुरको शारदा सरस्वती दोधाराले सैनिक आवासीय महाविद्यालय तेघरीमाथि १ सय रनको सानदार जित दर्ता गरेको छ । टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको शारदाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७० रन बनायो । १ सय ७१ रनको विशाल विजयी लक्ष पछ्याएको सैनिकले १५ ओभरमा आफ्ना सबै विकेट गुमाएर ७० रन मात्रै बनाउन सक्यो । उसका खडक बोहराले २७ र प्रज्वल थापाले १७ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यान शारदाका बलर सामु टिक्न सकेनन् । सैनिकलाई सस्तैमा समेट्न शारदाका विकास सुनारले ५ विकेट लिए । अर्जुनसिंह साउदले ३, मिलन बोहराले २ विकेट लिए । यस अघि शारदाका लागि आक्रामक पारी खेलेका राजेश साउदले २२ बलमा ५ चौका र ३ छक्काको मद्दतले ४५ रनको पारी खेले । उसका सुनिल चन्दले ४१, कप्तान गणेश बिटालुले २७, सागर चन्दले २० रन बनाएर आउट हुँदा हेमन्त धामी ११ रनमा अविजित रहे । सैनिकका खडक बोहराले ३ र आकाश चन्दले २ विकेट लिए । खेलको प्लेयर अफ दी म्याच विकास सुनार घोषित भए ।
गेम चेन्जर अवार्ड अर्जुनसिंह साउदले पाउँदा, सर्वाधिक छक्काको अवार्ड राजेश साउद र सुनिल चन्दले पाए । आजै भएको दोस्रो खेलमा स्टेपिङ स्टोनले सत्यवती माथि ३० रनको सान्त्वना जित निकाल्न सफल भयो । टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको स्टेपिङले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ५७ रन बनाएको थियो । १ सय ५८ रनको विजयी लक्ष पछ्याएको सत्यवतीले १८.४ मा १ सय २७ रन मात्रै बनाउन सक्यो । उसका लागि आदील अन्सारीले २५, सन्तोष कार्कीले २४, खगेन्द्र जोशीले २२, सुजन गौतमले १६, नीरज भट्टले १२ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानको प्रदर्शन राम्रो रहन सकेन । बलिङ तर्फ स्टेपिङका दिनेश ओडले ४, कपिल मिश्र, भुपेश जोशी, वीरेन्द्र चन्दले समान २÷२ विकेट लिए ।
यस अघि स्टेपिङका लागि अभिषेक कुवरले ४१ बलमा ५ छक्का र ४ चौका प्रहार गर्दै ६५ रनको उत्कृष्ट पारी खेले । दिनेश ओडले २९, वीरेन्द्र चन्दले २१, आर्यान दानपालीले १९ र विशाल विष्टले ११ रन बनाए । बलिङ तर्फ सत्यवतीका नीरज भट्ट र सन्दीप खत्रीले समान २÷२ विकेट लिए । खेलको प्लेयर अफ दी म्याच अभिषेक कुँवर भए । गेम चेन्जर अवार्ड दिनेश वडले पाउँदा सर्वाधिक छक्काको अवार्ड पनि अभिषेकले नै पाए । सत्यवती यस अघि नै सेमिफाइनलमा प्रवेश गरिसकेको छ भने स्टेपिङ उपाधि होडबाट बाहिरी सकेको टिम हो ।
समूह चरणको अन्तिम खेलमा भोलि बिहीबार बिहान ९ः३० बजे काठ्माण्डौँको हिमालयन ह्वाइट हाउस स्कुल र होलिल्याण्ड स्कुल अत्तरिया प्रतिस्पर्धा गर्नेछन् ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.