बाजुरा र बैतडीका बाढीपहिरो प्रभावित क्षेत्रमा तत्काल उद्धार तथा सडक सञ्चालन गर्न मुख्यमन्त्री भट्टको निर्देशन

धनगढी  : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बाजुरा र बैतडी जिल्लाका विभिन्न स्थानमा गएको बाढीपहिरो तथा त्यसका कारण अवरुद्ध सडक तत्काल सञ्चालनमा ल्याउन मातहतका निकायलाई निर्देशन दिएका छन ।

मुख्यमन्त्री भट्टले बाजुरा जिल्लाका विभिन्न स्थानमा गएको बाढीपहिरोबाट भएको क्षति तथा अवस्थाबारे बाजुराका प्रमुख जिल्ला अधिकारीसँग टेलिफोनमार्फत जानकारी लिएका हुन । उनले बाढीपहिरोका कारण उत्पन्न जोखिम, क्षतिको अवस्था तथा स्थानीय स्तरमा भइरहेको उद्धार तथा व्यवस्थापनका विषयमा जानकारी लिए ।

त्यसैगरी, बैतडी जिल्लाको ढल्यामोडलगायत विभिन्न क्षेत्रमा गएको बाढीपहिरो र त्यसका कारण सडक अवरुद्ध भएको विषयमा समेत मुख्यमन्त्री भट्टले जानकारी लिएका छन् । मुख्यमन्त्री भट्टले बाजुरा र बैतडीमा अवरुद्ध भएका सडक तत्काल सञ्चालनमा ल्याउन तथा विपदबाट हुनसक्ने सम्भावित जोखिम न्यूनीकरणका लागि आवश्यक तयारी र सतर्कता अपनाउन सम्बन्धित निकायलाई निर्देशन दिए ।

सडक तत्काल सञ्चालनमा ल्याउन भौतिक पूर्वाधार मन्त्रालय अन्तरगतका आवश्यक स्रोतसाधन परिचालन गरी अवरुद्ध सडक खुलाउने व्यवस्था मिलाउन मुख्यमन्त्री भट्टले निर्देशन दिए
। मुख्यमन्त्री भट्टले विपद्को समयमा नागरिकको जनधनको सुरक्षा पहिलो प्राथमिकता रहेको भन्दै उद्धार, राहत तथा सडक सञ्चालनका लागि प्रदेश सरकारका सम्बन्धित निकायलाई प्रभावकारी रूपमा परिचालन हुनसमेत निर्देशन दिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.