एमसीसीविरुद्ध धनगढीमा विरोध प्रदर्शन
धनगढी : एमसीसीको विरोधमा धनगढीमा पनि विरोध प्रदर्शन भएको छ । सुदूरपश्चिमको राजधानी धनगढीमा बिहिबार प्रदर्शन गरिएको हो । नेकपा माओवादी केन्द्रका सम्पूर्ण जनवर्गीय संगठनको आयोजनामा अमेरिकी सहायता परियोजना एमसीसीको विरोधमा प्रदर्शन गरिएको छ ।
धनगढीको मुख्य सडकमा एमसीसी लागू गर्न नहुने भन्दै विभिन्न नारासहित प्रदर्शन गरिएकोमा जिल्ला प्रशासन कार्यालय अगाडि कोणसभा गरिएको छ । कोणसभालाई सम्बोधन गर्दै माओवादी केन्द्रका नेता रमेश धामीले एमसीसी राष्ट्रघाती परियोजना भएको भन्दै कुनै पनि हालतमा संसदबाट पास नहुने दाबी गरे ।
यस्तै धनगढीमा ८ कम्युनिष्ट पार्टीले पनि एमसीसीविरद्ध प्रदर्शन गरिरहेका छन् । उनीहरुले पनि जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शन गरिरहेका हुन् । आइतबार संसदमा एमसीसी सम्झौता पेस हुनुअघिदेखि नै सत्ता गठबन्धनमा रहेर पनि एमसीसीको विपक्षमा रहेका विभिन्न दलका भातृ संगठनहरुले प्रदर्शन सुरु गरेका थिए ।
माओवादी केन्द्र र एकीकृत समाजवादी, नेमकिपा, जनमोर्चा, राप्रपालगायतका विभिन्न पार्टीका कार्यकर्ताले देशभर प्रदर्शन गर्दै आएका छन् ।
संसदमा आज एमसीसीबारे छलफल हुने भनिएकोमा सूचना जारी गर्दै बैठक स्थगित गरिएको जानकारी दिइएको छ । शुक्रबार १ बजे प्रतिनिधि सभाको बैठक बोलाइएको छ ।