एलपिएलको उपाधि सत्यवतीलाई
धनगढी : बिद्याभुषण पब्लिक स्कुल गेटा कैलालीलाई १ सय ६१ रनको विशाल अन्तरले पराजित गर्दै सत्यवती एकेडेमी अत्तरियाले छैठौं संस्करणको लिटल फ्लावर प्रिमियर लिग अन्डर–१९ स्कुल स्तरीय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।
उपाधि सहित सत्यवती एकेडेमीले एक लाख पचास हजार रुपैयाँ तथा उपविजेता बिद्या भुषणले पचहत्तर हजार रुपैयाँ प्राप्त पाएको हो । धनगढी को प्रदेश प्रहरी कार्यालयको खेल मैदानमा सम्पन्न फाइनलमा सत्यवती एकेडेमीले दिएको २५१ रनको विशाल लक्ष्य पछ्याउने क्रममा बिद्याभुषणले १२.१ ओभरमा ८९ रन मात्र बनाउन सक्यो ।
लक्ष्य पछ्याउने क्रममा बिद्याभुषणका नुरेन बिस्टले सर्वाधिक ३१ रन तथा प्रशान्त थापाले १३ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । सत्यवती एकेडेमीको बलिंगमा युवराज खत्री र निरज भट्टले समान तिन विकेट तथा सन्तोष कार्की र सुजन गौतमले समान दुई विकेट लिए ।
यस अघि टस जितेर ब्याटिंग गरेको सत्यवती एकेडेमीले २० ओभरमा ४ विकेट क्षतिमा २५० रन बनाएको थियो । सत्यवतीको ब्याटिंगमा अन्डर–१९ राष्ट्रिय क्रिकेटर समेत रहेका ओपनर सन्तोष कार्कीले सर्वाधिक ९८ रन बनाए जुन क्रममा उनले ४५ बलमा ३ चौका र ११ छक्का प्रहार गरे । यस्तै खगेन्द्र जोशीले ८३ रन बनाउने क्रममा ५१ बलमा १० चौका र ३ छक्का प्रहार गरे । आदील अन्सारीले १२ बलमा २ चौका र ३ छक्का मद्दतले अविजित ३५ तथा सुजन गौतमले ५ बलमा ३ छक्का मद्दतले १९ रन योगदान दिए । सन्तोष कार्की र खगेन्द्र जोशीले १८० रनको ओपनिंग साझेदारी गरे जुन प्रतियोगिताकै उच्च साझेदारी हो। चौंथो विकेटको लागि आदील अन्सारी र सुजन गौतमले ५३ रनको साझेदारी गरे ।
बिद्याभुषणका बलर प्रदिप चन्दले तिन विकेट तथा बिरेन्द्र नाथले एक विकेट लिए । महँगो सावित भएका टिम कप्तान शेरले ४ ओभर बलिंग गर्दा ७९ रन खर्चेर विकेटविहिन रहे । प्रतियोगिताकै उत्कृस्ट खेलाडी सत्यवती एकेडेमीका सन्तोष कार्की चुनिए जसले २० हजार रुपैयाँ प्राप्त गरे । यस्तै उत्कृस्ट ब्याट्सम्यान विद्या भुषणका बिरेन्द्र नाथ तथा उत्कृस्ट बलर हिमालयन व्हाइट हाउसका दिपक बोहरा घोषित भए जसले जनही दश हजार रुपैयाँ प्राप्त गरे । यस्तै उदयमान खेलाडी सत्यवती एकेडेमीका युवराज खत्री चुनिए जसले १० हजार रुपैयाँ प्राप्त गरे । फाल्गुन २ गते देखि सुरु भएको प्रतियोगितामा दश टोलिको सहभागिता रहेको थियो ।